महोत्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति सदस्य तथा मधेश प्रदेशका पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाको प्रदेशसभा सदस्य निलम्बन फुकुवा भएको छ ।
बिहीवार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको निलम्बन फुकुवा भएको जानकारी दिएका हुन् । गत जेठ २९ गते महोत्तरी क्षेत्र नम्बर-४ (ख) बाट प्रदेशसभामा निर्वाचित कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ गरेपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।
आयोगले मधेश सरकारले अघोषित रुपमा सांसदहरुलाई उपलब्ध गराउने भनिएको संसदीय विकास कोष सम्बन्धी योजनाको उपभोक्ता समिति गठनमा अनियमितता गरेको आरोप लगाउँदै उनलाई पक्राउ गरेको थियो । सो घटनाअघि, जेठ १२ गते आयोगको टोलीले कुशवाहाको निवासमा छापा मारेको थियो । छापामारीको क्रममा उनका स्वकीय सचिव विनोदलाल कर्णलाई नियन्त्रणमा लिइएको थियो ।
साथै, घरबाट विभिन्न योजनासम्बन्धी कागजातहरु बरामद गरिएको थियो भने मोबाइल फोन समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।निलम्बन फुकुवा भएपछि सरोजसिंह कुशवाहा पुनः सक्रिय रुपमा मधेश प्रदेशसभामा सहभागी हुने भएका छन् ।




