जनकपुर- जनकपुरधाममा स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक व्यक्ति घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।



झडपमा सात जना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन्। घाइते सातै जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना जनकपुरधाम उपमहानगरपालिका – २० देवपुरा रुपैठास्थित झण्डाचोकमा भएको हो। त्यहाँ टावरलाइट जडान भएको पोलमा राखिएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच विवाद भई झडप भएको थियो। सो क्रममाप्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको खुलेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड फायर गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
उनका अनुसार १४ डमी गोली, ११ राउन्ड गोली पेस्तोलबाट हवाई फायर गरिएको हो । ३१ सेल अश्रुग्यास प्रहार भएको उनले बताए ।
डिएसपी सिंहका अनुसार अवस्था हिजैदेखि तनावपूर्ण बनेको हो। आज दुवै पक्षका भलादमी र प्रहरी प्रशासनबीच छलफल गरी सो पोलमा दुवै समुदायका झण्डा हटाउने सहमति भएको थियो। तर सहमति कार्यान्वयनका क्रममा पुनः झडप चर्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रयोग गरेको थियो।




