महोत्तरी – निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा महोत्तरी आउँदै हुनुहुन्छ। उहाँ स्थानीय प्रचार–प्रसार कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख सुनिल कुमार यादवका अनुसार, उपसभापति शर्माले प्रदेश र केन्द्र सरकारका विकास योजना, पार्टीका नीति तथा कार्यक्रम र आगामी निर्वाचनको महत्वबारे मतदातालाई अवगत गराउनुहुनेछ।
उपसभापति शर्माको जलेश्वर र सम्सी आगमनसँगै स्थानीय कांग्रेसका युवा तथा महिला कार्यकर्ता उत्साहित देखिएका छन्। उनीहरूले पार्टीको सन्देश घरघरमा पुर्याउने, क्षेत्रीय विकासका योजनाहरू समेटेर प्रभावकारी चुनावी रणनीति प्रस्तुत गर्ने तयारी गरेका छन्। विगतमा विभिन्न विकास तथा सामाजिक कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा पनि क्षेत्रीय जनसमर्थन जुटाउन उपसभापति शर्माको सम्बोधन निर्णायक हुने विश्वास लिएको छ।



स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले उहाँको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।निर्वाचन नजिकिँदै जाँदा महोत्तरी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ भने चुनावी माहोल थप तातिँदै गएको छ।




