महोत्तरी - औरही नगरपालिका–१ स्थित जनता आधारभूत विद्यालय अगाडि करिब दुई हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर आज हटाइएको छ। विद्यालयका प्राध्यापक पच्चु महराले यसअघि सरसफाइका लागि नगरपालिकामा लिखित निवेदन दिएका थिए।
यसैबीच, शिरीष न्युज महोत्तरी जिल्ला प्रमुख एवं स्थानीय सञ्चारकर्मी धर्वेन्द्र कुमार यादव “यदुवंशी” ले सामाजिक सञ्जालमार्फत नगरभित्र सडकमा बढ्दै गएको फोहोर र अतिक्रमणप्रति प्रश्न उठाउँदै नगर प्रहरीको भूमिका के हो भन्ने विषय सार्वजनिक गरेका थिए।

नगरपालिका र नगर प्रहरीको पहलमा JCB मेसिन, विद्यार्थी तथा स्थानीयवासीहरूको सक्रिय सहकार्यमा आज विद्यालय अगाडि थुप्रिएको दुर्गन्धित फोहोर व्यवस्थापन गरिएको हो। साथै, अन्य वडाहरूमा समेत सडक सरसफाइ र अतिक्रमण हटाउने अभियान अघि बढाइएको नगरपालिका स्रोतले जनाएको छ।

नगर प्रहरीका प्रमुख शत्रुधन साहले भने, “नगरलाई स्वच्छ र सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो। विद्यालय अगाडि लामो समयदेखि थुप्रिएको फोहोर हटाउनु मात्र होइन, अब नगरका प्रत्येक वडामा निरन्तर सरसफाइ र अतिक्रमण नियन्त्रण गर्ने अभियानलाई अझ कडाइका साथ अघि बढाइनेछ,” भने।

सो अवसरमा औरही नगरपालिकाका प्रमुखले भने, “समृद्ध औरही नगरपालिका हाम्रो शान, पूर्ण सरसफाईयुक्त नगरपालिका हाम्रो अभियान” भन्ने नारा अनुसार हामी निरन्तर सरसफाइ अभियानलाई अघि बढाउँदैछौं। नगरवासीको सक्रिय सहभागिता नै यस अभियानको आधार हो,” भन्दै सबैलाई सहयोगका लागि आह्वान गरे।

सो कार्यप्रति स्थानीय रामब्रण मण्डलसहित बस्तीवासीहरूले नगरपालिका र नगर प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन्।




