जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तराष्ट्रिय औद्योगिक मेलाको आयोजना हुने भएको छ।
उद्योग परिसंघ,मधेश प्रदेश तथा सिया ईभेन्टस र ग्लोबलटेक ईण्डियाको संयुक्त आयोजनामा अन्तराष्ट्रिय ईन्डस्ट्रिय एक्स्पो २०२५ नाम दिइएको सो मेलाको आयोजना कात्र्तिक २७ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।
यहाँ स्थित जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष प्रमोद साहले उद्योग,कृषि र अटोमोबाईल क्षेत्रहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किंग तथा सहकार्य र भविष्य निर्माण गर्ने नविनतम् प्रविधिहरुको प्रदर्शन नै यस मेलाको मुख्य उद्देश्य रहेको बताए ।
‘उद्योगीसंग जोडिएका जत्ति पनि ईक्युप्मेन्ट सप्लाएर,बोयलर सप्लाएरहरुलाई हामिले आह्वान गरिरहेका छौं ईभेन्टका लागि र यो ईभेन्टमा जोडिने भनेको जत्ति पनि उद्योगीहरु छन् , अहिलेका स्टिम उद्योगी छन् र नयाँ उद्योग खोल्न चाहनेहरु पनि एकै मंचमा उभिने हाम्रो विश्वास छ।’,अध्यक्ष साहले भने ।
प्रत्यक्ष उत्पादन प्रदर्शन र अत्याधुनिक मेशिनहरुको प्रदर्शनी प्रविधि प्रदर्शनीहरु जसमा स्वचालन कृत्रिम बुद्धिमता र स्मार्ट खेति उपकरहरुको प्रदर्शनी गरिने जानकारी समेत आयोजकले गराएको छ ।
प्रमुख अटो निर्माताहरुबाट विद्युतीय र स्वचालित सवारी साधनहरुको प्रदर्शनी,उद्योगका प्रमुख विशेषज्ञहरुले संचालन गर्ने कार्यशाला र प्यानल छलफल र व्यवसायिक मिलन तथा नेटवर्किंगको अवसर प्राप्त हुने विश्वास आयोजकको रहेको छ ।
यस औद्योगिक मेलाले देश तथा विदेशबाट पनि उल्लेख्य संख्यामा आगन्तुकहरु र सहभागिहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ भने यसको आयोजनामा एक करोड भन्दा बढीको लगानी हुने अनुमान गरिएको छ ।
औद्योगिक मेलामा १ सय ४० वटा स्टलहरू रहने भएको छ । मेलामा खास गरेर भारत तथा बङ्गलादेशमा उत्पादन भएको अटो मोबाइल, कृषि तथा अन्य प्रकारका औद्योगिक उत्पादनहरू प्रदर्शनीमा रहने आयोजकले जनाएको छ ।




