काठमाडौं । सुधारिएको शासन, भ्रष्टाचार नियन्त्रण र सबल लोकतन्त्रको माग गर्दै सडकमा उत्रिएका जेन जीमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको छ । आक्रोशित युवापंक्तिलाई संयमित पार्ने प्रयत्न गर्नुपर्नेमा सरकारले अत्यधिक बल प्रयोग गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब निरीक्षक (डीआईजी) विनोद घिमिरेले देशभर आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले काठमाडौंका विभिन्न अस्पतालमा १७ जना र २ जनाको इटहरीमा मृत्यु भएको बताए । उनले मृतक केहीको पहिचान खुलेको र केहीको बाँकी रहेको बताए ।
जेन जी आन्दोलनको आव्हान गर्नेहरूले यो आन्दोलन शान्तिपूर्ण हुने बताएका थिए । यद्यपि, काठमाडौं, कास्की, सुनसरी, पर्सा लगायतका क्षेत्रमा आन्दोलनले उग्र रूप लिएको छ । काठमाडौंमा संसद् भवनमा तोडफोड र आगजनी भएको छ ।
कास्कीमा मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएको थियो । इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएको छ ।
मानवअधिकार आयोगले सरकारकै कारण प्रदर्शन भड्किएको बताएको छ । युवाहरूको आक्रोश र आन्दोलनलाई साम्य पार्न प्रयास गर्नुको सट्टा सरकार आफैँले उनीहरूलाई उत्तेजित बनाउने काम गरेको मानवअधिकार आयोगको भनाइ छ । ‘हाम्रा प्रतिनिधिहरूले आन्दोलन अनुगमन गर्दा राज्यले अत्यधिक बल प्रयोग गरेको देखिएको छ । भिडलाई उत्तेजित बनाउने काम राज्य पक्षबाटै भएको छ । माथिको निर्देशन भन्दै गोली बर्साइएको छ,’ मानवअधिकार आयोगकी सदस्य लिली थापाले नेपालभ्युजसँग भनिन् ।
प्रहरीलाई भिड नियन्त्रणको क्रममा घुँडामुनि गोली प्रहारको अनुमति हुन्छ । यद्यपि, प्रहरीले उक्त नियम पालना गरेको छैन । आन्दोलनको समाचार संकलनार्थ खटिएका पत्रकार दीपेन्द्र ढुंगानाको घाँटीमा रबरको गोलीले छेडेको छ । यता, इटहरीमा मृत्यु भएका २ मध्ये एकको डाढमा र अर्काको टाउकोमा गोली लागेको पाइएको छ ।
प्रहरीले भिड नियन्त्रणका लागि रबरको मात्रै नभएर धातुको गोलीसमेत प्रयोग गरेको छ । मानवअधिकार आयोगकी सदस्य थापाले प्रहरीले माथिको आदेश भन्दै मानिसको ज्यान लिने गरी गोली बर्साएको बताइन् । ‘भिडलाई उत्तेजक बनाउन अश्रु ग्यास प्रहार गर्नेदेखि अन्धाधुन्ध गोली प्रहार गरिएको छ । घुँडामुनि गोली हानेको भए यत्रा मान्छे कसरी मरे ?’ उनले भनिन् ।
सामाजिक सञ्जाल केन्द्रित आन्दोलनलाई सशक्त सडक प्रदर्शनमा रूपान्तरणको तयारीलाई सरकारले निकै हलुका मूल्याङ्कन गरेको सुरक्षा मामिला जानकारको टिप्पणी छ । स्थिति कस्तो देखियो भने यस आन्दोलनबारे गृहमन्त्री रमेश लेखक बेखबर जस्तै थिए । प्रदर्शनकारीहरू सडकमा उत्रिँदा उनी सिंहदरबारमा संसदीय समितिको बैठकमा व्यस्त थिए । प्रदर्शनकारीहरू संसद् भवनमा तोडफोडमा उत्रिएपछि उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई सम्पर्क गर्दै कर्फ्यु लगाउन आदेश दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले दुई चरणमा कर्फ्यु लगायो । कर्फ्यु लगाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । प्रहरी आन्दोलनको स्वरूप आकलनमा चुक्दा आन्दोलनमा अत्यधिक दमन हुन पुगेको पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन् । ‘जेन जीको आन्दोलनबारे प्रहरीको मूल्याङ्कन गलत भयो । मूल्याङ्कन गलत हुने बित्तिकै आपसी सहकार्यमा समस्या हुन्छ र यसले क्षति बढाउँछ,’ उनले भने ।

यस आन्दोलनमा बढी क्षति हुनुको कारण भनेको प्रहरीसँग भिड नियन्त्रणको उपयुक्त हतियार नहुनु रहेको उनको भनाइ छ । प्रहरीले पटक-पटक भिड नियन्त्रणको उपकरण खरिदको माग गरे पनि बिचौलियाको स्वार्थमा सरकार घातक हतियार खरिदमा लाग्दा भिड नियन्त्रणका क्रममा पटक-पटक मानवीय क्षति बढेको उनी बताउँछन् । ‘भिड नियन्त्रणका क्रममा कमभन्दा कम क्षति हुने उपकरण प्रयोग गर्नुपर्छ । प्रहरीले भिड नियन्त्रणका उपकरण माग गर्दा बिचौलियाको स्वार्थमा घातक हतियार खरिद गर्न खोजेपछि यस्तै हुने त हो,’ मल्ल भन्छन् ।
प्रहरीले सरकारसँग दंगा नियन्त्रण उपकरण, अश्रु ग्यास, मल्टी ग्यास गनलगायतका भिड नियन्त्रणको लागि उपयोगी सामग्री खरिदको माग गरेको थियो । सरकारले भने तीन वर्ष पुरानो ठेक्का ब्युँताउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई घातक हतियार खरिदको तयारी अघि बढाउन खोजेको थियो ।
अत्यधिक दमनपछि गृहमन्त्रीको राजीनामाको माग, सरकारको वैधानिकताप्रति प्रश्न
सरकारले जेन जीको आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै कांग्रेसकै नेता कार्यकर्ताहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेका छन् । केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘युवाहरूको मृत्युप्रति गृहमन्त्री उत्तरदायी हुनुपर्छ । उहाँले राजीनामा नगरे पार्टीले फिर्ता बोलाउनुपर्छ,’ उनको माग छ ।
सरकारको नेतृत्व गरिरहेको एमालेकै नेताले पनि जेनजीको आन्दोलनमाथि भएको दमनकाे आलोचना गरेका छन् । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बानेश्वरमा जेन जीको प्रदर्शनमा भएको दमन हत्या भएको बताएकी छिन् । ‘आजको बानेश्वर काण्ड कुनै भवितव्य होइन, यो हत्या हो । निहत्था बाल – बालिकाहरूको हत्या,’ उनले आफ्नो फेसबुकमा लेखेकी छन्,‘यो हत्याको बदला समयले तिमीहरूलाई अवश्य लिनेछ ।’
प्रतिपक्षी दलहरूले समेत सरकारले अत्यधिक दमन गरेको भन्दै विरोध जनाएका छन् । ‘सरकारले युवाहरूको आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरेको प्रति पार्टीले घोर भर्त्सना गरेको छ,’ माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने ।
एकीकृत समाजवादीले पनि सरकारले हिंसात्मक दमन गरेको भन्दै निन्दा गरेको छ । ‘हाम्रो पार्टी आन्दोलनमाथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासन विरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारको वैधानिकता समाप्त भएको तर्क गर्दै ताजा जनादेशमा जानुपर्ने माग राखेको छ । ‘वर्तमान सरकारको औचित्य पूर्णता समाप्त भएको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । कांग्रेस एमाले गठबन्धनको वैधानिकता समाप्तको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ,’ रास्वपाले भनेको छ ।
मानवअधिकार तथा शान्ति समाज पनि सरकारको वैधानिकता समाप्त भएको भन्दै विज्ञप्ति जारी गरेको छ । ‘आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो । नागरिकमाथि क्रूरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ । यस्तो क्रूरताको लागि जिम्मेवारहरूलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
जेन जी आन्दोलनमा सहभागीहरूले पनि शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउने काम प्रशासनले नै गरेको बताएका छन् । आफूहरू शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पुगे पनि स्थिति बिथोलिएको उनीहरूको भनाइ छ । शासन प्रणाली भित्रको अव्यवस्था, भ्रष्टाचार र राजनीतिलाई सही मार्गमा ल्याउने सङ्कल्पमा दृढतापूर्वक लाग्ने उनीहरू बताउँछन् । आफूहरूको माग सम्बोधन नहुँदासम्म सडक नछोड्ने जस्टिना बताउँछिन् । ‘हाम्रा माग र आवाजमा राज्यले दमन गरेकैलै हामी शान्तिपूर्ण आन्दोलनका लागि सडकमा उत्रियौँ । हाम्रो सडक आन्दोलनलाई सरकारले दमन गर्दैमा हामी अब पछि हट्नेछौँ । हामीले आश्वासन धेरै सुन्यौँ । अब परिणाम प्राप्त गर्ने लक्ष्य राखेर हामी आन्दोलित भएका हौँ,’ उनले भनिन् ।




