महोत्तरी – नेपाली कांग्रेस भंगहा नगर कार्यसमितिले भंगहा नगरपालिकाको कामकाजमा पारदर्शिता, आर्थिक अनुशासन र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा विकास निर्माणका योजना, खरिद प्रक्रिया, उपभोक्ता समिति गठन तथा खर्च विवरण पारदर्शी बनाउनुपर्ने माग गरिएको छ। प्रत्येक योजनाको बजेट, लागत, कार्यविवरण, उपभोक्ता समितिका पदाधिकारी र कार्य सम्पन्न गर्ने समयावधि खुल्ने गरी सार्वजनिक सूचना राख्न कांग्रेसले आग्रह गरेको छ।



नगरपालिकाबाट हुने सवारीसाधन प्रयोग, भाडा तथा अन्य खर्चको भुक्तानी गर्दा सम्झौता, आधिकारिक बिल, कार्यसम्पन्न प्रमाण र खर्चको औचित्य जाँच गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख छ। आवश्यक प्रक्रिया र प्रमाण पूरा नभएका बिलको भुक्तानी रोक्न पनि कांग्रेसले आग्रह गरेको छ।
त्यसैगरी, नगरपालिकाले प्रयोग गरिरहेको भवनसम्बन्धी नगरप्रमुख सञ्जीव साहले गरेको भनिएको सम्झौता सार्वजनिक गरी भवन प्रयोगका सर्त, सम्झौताको अवधि, शुल्क तथा आर्थिक दायित्वबारे नगरवासीलाई जानकारी दिनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा करिब ४०० वटा स्ट्रिट लाइट र १०० वटा हाइमास्ट लाइट खरिद तथा जडानसम्बन्धी काम भए पनि विद्युत् जडान गरी सञ्चालनमा नल्याइएको दाबी गरिएको छ। जडान गरिएका लाइटको संख्या, स्थान, लागत र वर्तमान अवस्थाबारे निरीक्षण गरी विवरण सार्वजनिक गर्न तथा आवश्यक विद्युत् जडानको काम शीघ्र सम्पन्न गर्न कांग्रेसले माग गरेको छ। बिग्रिएका लाइटलाई खरिद सम्झौता तथा ग्यारेन्टी–वारेन्टीको सर्तअनुसार मर्मत वा प्रतिस्थापन गरी अनावश्यक खर्च रोक्नसमेत आग्रह गरिएको छ।
शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिँदै कांग्रेसले बजेट वृद्धि, विद्यार्थी संख्याका आधारमा सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापन तथा शैक्षिक सामग्री र भौतिक पूर्वाधारको सुधार गर्न माग गरेको छ। विद्यालयमा शिक्षक अभाव हुन नदिन र विद्यार्थीको हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
कृषि क्षेत्रतर्फ खेतीपातीको समयमा कृषकलाई मल, उन्नत बीउबिजन तथा अन्य कृषि सामग्री सहुलियतपूर्ण दरमा उपलब्ध गराउन, अनुदान वितरण पारदर्शी बनाउन तथा सिँचाइ, कृषि प्राविधिक सेवा र बजार व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।
नगरपालिकाबाट हुने सम्पूर्ण भुक्तानीअघि सम्बन्धित कागजात, बिल, सम्झौता, कार्यसम्पन्न प्रतिवेदन र कामको वास्तविक अवस्था जाँच गरी मात्र भुक्तानी गर्नुपर्ने कांग्रेसको माग छ।
नेपाली कांग्रेस भंगहा नगर कार्यसमितिले कुनै पनि दबाब वा प्रभावमा नपरी प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा काम गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरेको छ। ज्ञापनपत्रमा समेटिएका माग कार्यान्वयन गरी गरिएका कामकारबाहीबारे लिखित जानकारी उपलब्ध गराउनसमेत माग गरिएको छ।
ज्ञापनपत्रको बोधार्थ नगरप्रमुख सञ्जीव साहलाई समेत दिइएको छ।




