महोत्तरी - महोत्तरीको प्रसिद्ध धार्मिक स्थल सोनामाई मन्दिरमा यस वर्ष दशैंको घटस्थापनाको अवसरमा दुई ऐतिहासिक कार्यक्रम एकसाथ सम्पन्न हुँदैछन्। औरही नगरपालिका–७ मा स्थित सोनामाई शक्तिपीठमा जहाँ वर्षाै देखि भूत मेला र यस वर्ष पहिलोपटक करिब २ हजार ५ सय कलश सहितको बृहत कलश यात्राको समेत आयोजना गर्न लागिएको छ।

यस्तो छ कलश यात्राको तयारी
औरही नगरपालिका तथा नगरवासीको संयुक्त पहलमा दशैंको घटस्थापनाको दिन विशेष कलश यात्राको आयोजना हुँदैछ। यो पवित्र यात्रा फुलबरियाको वेतो, पचाईन र जङ्गा खोलाको संगमस्थलबाट प्रारम्भ भई सोनामाई मन्दिरसम्म पुग्नेछ। नगरपालिकाका अनुसार यस ऐतिहासिक कलश यात्राले नगरवासी बीच एकता, सांस्कृतिक धरोहर र धार्मिक मूल्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

नगर प्रमुख प्रदीप कुमार खड्काले भने, “सोनामाई मन्दिर हाम्रो आस्था, विश्वास र सांस्कृतिक सम्पदाको केन्द्र हो। कलश यात्राले नगरको धार्मिक एवं सांस्कृतिक इतिहासमा नयाँ अध्याय थप्नेछ। नगरवासीबीचको एकता र साझा परम्पराप्रतिको सम्मानलाई यो यात्राले अझ गहिरो बनाउनेछ।”

भूत मेला सुरु
यसैबीच, बडादशैंको अवसरमा वर्षौ देखि नै भूतमेलाका लागि प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला पनि सुरु भएको छ। पुजारी कामेश्वर झाका अनुसार प्रत्येक वर्ष बडादशैंको षष्ठीदेखि विजयादशमीसम्म चल्ने यो मेला यसपटक पनि अविरल रूपमा सुरु भएको हो।

सोनामाई शक्तिपीठलाई भूत, पिशाच, बोक्साबोक्सी र दुष्ट आत्माको सतावटबाट मुक्ति पाउने स्थलका रूपमा जनविश्वास रहेको छ। मन्दिरका पुजारी रमेश झाका अनुसार “महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका विभिन्न जिल्ला तथा भारतका सीतामढी, मधुवनी, पटना जस्ता शहरहरूबाट हजारौं पीडित (कारनी) र श्रद्धालुहरू प्रत्येक वर्ष यस मेलामा आउँछन्। यहाँ धामीझाँक्रीहरूले रातदिन भजनकीर्तन र भूत भगाउने कार्यमा तल्लीन रहन्छन्।”अर्का पुजारी झगरु झाले बताए अनुसार भूत मेलामा आएका पीडितहरू देवीको दृष्टि पर्नासाथ निको भएर आ–आफ्ना घर फर्कने गरेको अनुभव गरिन्छ। मेलामा आउने भक्तहरूको सुरक्षाका लागि र रातको बासको व्यवस्थाका लागि पूजा व्यवस्थापन समितिले आवश्यक तयारी गरेको छ। समितिले यस वर्ष पनि भक्तजनलाई सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाइएको बताएको छ।

धार्मिक पर्यटनको सम्भावना
दशैंको अवसरमा आयोजना हुने यी दुई कार्यक्रम — बृहत कलश यात्रा र भूत मेला — दुवैले सोनामाई मन्दिर र औरही नगरपालिकाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सबै श्रद्धालु, नगरवासी तथा आगन्तुकलाई सोमवार बिहान ८ बजे सोनामाई मन्दिरमा उपस्थित भई कलश यात्रामा सहभागी हुन हार्दिक निमन्त्रणा दिएको छ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको यस कार्यक्रमले स्थानीय पर्यटनलाई समेत सुदृढ बनाउने विश्वास नगरवासी र आयोजक दुवैको छ।







