महोत्तरी - महोत्तरीको औरही नगरपालिका–७, भोइलस्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष पनि आफ्ना जेष्ठ नागरिक सदस्यहरूलाई दशैं खर्च वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा ७८ जना जेष्ठ सदस्यलाई प्रतिव्यक्ति रू ५०० का दरले जम्मा रू ३९ हजार रकम प्रदान गरिएको हो।

श्री रामविलास चन्देश्वर यादव जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष गणिता यादवले सहकारीले २०७८ सालदेखि निरन्तर रूपमा दशैंको अवसरमा जेष्ठ सदस्यलाई सहयोग गर्दै आएको बताइन्। उनका अनुसार पहिलो वर्षमा २२ जना, दोस्रो वर्षमा ३७ जना, तेस्रो वर्षमा ५२ जना, चौथो वर्षमा ७२ जना र यस वर्ष ७८ जना जेष्ठ सदस्यले दशैं खर्च प्राप्त गरेका छन्।

सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तालाई स्वास्थ्य, पोषण र जीवनशैलीमा सन्तुलित रूपमा खर्च गर्न अनुरोध गरे। “सहकारी संस्थाले वृद्ध सदस्यहरूलाई सम्मान र आदरको भावनासहित निरन्तरता दिइरहेको यो कदम अनुकरणीय छ,” उनले भने। साथै, उनले यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको उद्घाटन वडा नं. ८ का अध्यक्ष रामआश्रय यादव, वडा नं. ७ का अध्यक्ष जितेन्द्र यादव तथा संस्थाकी अध्यक्ष गणिता यादवले संयुक्त रूपमा गरेका थिए। वडा अध्यक्षहरूले जेष्ठ सदस्यलाई दिइएको सहयोगलाई प्रशंसनीय भन्दै यस्तो कार्यक्रमले सामाजिक एकता र आपसी सम्मान बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा भोइल, टिमकिया, चेपकट, श्रीपुर, भवानीगञ्ज र फूलवरिया गरी ६ टोलका जेष्ठ सदस्यको सहभागिता थियो। उपस्थित सदस्यहरूले सहकारीको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।

२०७१ माघ १२ गते २५ जना सदस्य र २ हजार ५ सय रुपैयाँको प्रारम्भिक पूँजीसहित सुरु भएको विषहारामाई बचत तथा ऋण सहकारी संस्था अहिले २ हजार १ सय ३४ सदस्यमा विस्तारित भएको छ। संस्थामा हाल शेयर पूँजी रू ८३ लाख २३ हजार ९ सय, बचत रू ११ करोड ५९ लाख २१ हजार ५ सय ८ र ऋण रू ११ करोड १२ लाख ६४ हजार ५ सय ३५ गरी जम्मा रू १५ करोड ८ लाख ९५ हजार १ सय ३२ को कारोबार रहेको छ।












