धनुषा -धनुषा सहित मधेसका प्राय सबैजिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अबिरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । हिन्द् नेपालीहरुको मुख्य चाड दसैंको समयमा निरन्तर मुसलधारे वर्षा भइ बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो । भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् । मान्यजनकहाँ दसैंको टीका, जमरा ग्रहण गर्न जानुपर्नेहरु लगातार झरी परिरहँदा घरमै थुनिएका छन् ।जनकपुरधामबाट छुट्ने सङ्घीय राजधानी काठमाडौँ जाने सवारी साधन ठप्प भएपछि शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् ।
यता जनकपुर विमान स्थलबाट काठमाण्डौको लागि उड्ने सबै विमान सेवा आज रोकिएको छ। दसैं मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरे पनि भारी वर्षाका कारण गाडी जानै नसकेको क्षीरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरका नविन राज दाहालले बताउनुभयो । भारी वर्षाका कारण धनुषा सहित तराई क्षेत्रबाट काठमाडौं जाने गाडी ठप्प भएका छन् । लामो दुरीमा चल्ने अन्य गाडी पनि पातलो मात्रामा चलिरहेका छन् । क्षीरेश्वरनाथ नगरपालिका –९, का वडाध्यक्ष मोद प्रसाद महतोले प्रत्येक खोलामा ठुलो बाढी आएकाले खोला पर्ने क्षेत्रमा पैदल हिँडेरै जाने अवस्था समेत नरहेको बताउनुभयो । भारी वर्षाका कारण दसैं मनाइ सकेर कर्मथलो फर्कने तयारी गरेकाहरु तत्काल सुरक्षित भएर घरमै बस्नुपर्ने अवस्था आएको छ । भारी वर्षात्ले गर्दा धनुषामा बिजुली अनियमित बनेको छ ।
अधिकांश स्थानमा मोवाइलको नेटवर्क समेत अवरुद्ध हुँदा टेलिफोन सम्पर्क मै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् । लगातार पानी परिरहँदा पशुपालक किसानलाई पशुवस्तुका लागि आहारा जुटाउन समस्या परेको छ । पानी पर्न नरोकिँदा शनिबार दिनभर जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार सहित जिल्लाका हाटबजारका अधिकांश पसल, व्यवसाय खुल्न सकेनन् । मौसम पूर्वानुमान महाशाखाको पूर्व सूचनाअनुसार भारी वर्षा भइरहँदा स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शंकरहरि आचार्यले बाढी तथा डुबानको समस्या आउनासाथ तत्काल उद्धारको काम गर्न तयार अवस्थामा रहेको बताउनुभयो ।
सिडिओ आचार्यका अनुसार करिव १८ घण्टादेखि अविरल वर्षा भइरहँदा शनिबार साँझ ५ बजेसम्म जिल्लामा बाढी तथा डुबानको समस्या आइसकेको छैन । शनिबार साँझबाट झन् ठुलो पानी पर्न थालेकाले अब बाढी तथा डुबानको समस्या सुरु हुने अनुमान गरिएको छ । कमला, जलाद, औरही, दुधमती, हर्दिनाथ लगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्न थालेको छ । खोला किनारका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।




