सुजाता राई
साेलुखुम्बु । महाकुलुङ गाउँपालिकामा पहिलोपटक औपचारिक रूपमा पुस्तक विमोचन गरिएको छ। “महाकुलुङकाे साहित्य र कलाकाे इतिहास एवम् व्यक्तित्व परिचय” शीर्षकमा मनुहाङ किराँती ‘साेलु’ काे पाँचौँ कृति शनिबार अजय अलंकारकाे प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो।
मनुहाङ किराँतीले २०८० सालदेखि निरन्तर रूपमा गाउँभित्र साहित्यिक गतिविधि सञ्चालन गर्दै आएका छन्। सोही क्रममा २०८० वैशाख १८ मा पहिलोपटक पालिका स्तरको कविता–गजल लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेका थिए। त्यसपछि २०८१ असोज २८ गते रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय मनबहादुर कुलुङलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने लेखककी आमा ७४ वर्षीया थेप्ली मनि छेन्छाेलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

यसै शृङ्खलालाई निरन्तरता दिँदै २०८२ असोज १८ गते शनिबार आयोजित तेस्रो साहित्यिक कार्यक्रम अन्तर्गत पाँचौँ कृति विमोचनसँगै महाकुलुङ स्तरीय कविता प्रतियोगिता पनि सम्पन्न भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, लेखकका परिवार, मामा तथा झण्डै ४० जना सहभागी भएका थिए।
प्रतियोगितामा पानस कुलुङ प्रथम, केशव कुलुङ द्वितीय र अनुसा कुलुङ तृतीय घोषित भए।
कार्यक्रमको आयोजना नवयुग साहित्य कला सेवा समाज सोलुखुम्बुले गरेको थियो।




