
जनकपुरधाम - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वभाविक भएको बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो केन्द्रीय अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले कार्यपालिका तथा व्यवस्थापिकाले लगत गर्यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वभाविक भएको बताए।

उनले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति, समृद्धिको जनचाहना पुरा गर्न धेरै समय नलाग्ने बताए।
नेता कोइरालाले भने, ‘राजनीतिक अस्थिरता र सत्ता शासनको कारणले गर्दा देशको वर्तमान आर्थिक र राजनीतिक अवस्था भयावह भएको हो ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले मुलुकमा शान्ति र समृद्धिको यात्रा नेपाली काँग्रेसले नै गरेको बताउँदै अहिलेको अवस्थामा सुधार पनि काँग्रेसले नै गर्ने दाबी गरे ।

संस्थाको केन्द्रीय अधिवेशनमा ५७ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरेर करिब दुई सय जनाको सहभागिता रहेको र अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम छ ।
प्रेस युनियन र कांग्रेस बिचको अपनत्व बढ्छ
नेता डा. कोइरालाले नेपाल प्रेस युनियन धनुषाका प्रतिनिधीहरुसंगको भेटमा अव कांग्रेसमा युनियन र पार्टी बिचको अपनत्व बढने र आपसी समन्वयमा बृद्वि हुने बताए ।

युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण र पार्टीको केन्द्रिय प्रचार प्रसार तथा सञ्चार विभाग सदस्य सुरेश यादवले पार्टीको नेतृत्वहरुले युनियन भन्दा अन्यत्र ध्यानकेन्द्रिय गरिरहेकाले युनियन बिच्कीने गरेको पार्टीको सहि सुचना प्रभाव हुन नसकिरहेको बताएका थिए ।
जवाफलमा डा. कोइरालाले कमी कमजोरी स्वीकार गरि सच्याउदै अगाडि बढनुको बिकल्प नरहेको बताउदै त्यसका लागि दुवै पक्ष बिच संवाद आवश्यक रहेको बताए । सो अवसरमा युनियनका केन्द्रिय सचिव अजित तिवारी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, युनियन धनुषाका सचिव हरिवंश यादव, राहुल सिंह सहितको उपस्थिती थियो ।