जनकपुरधाम- प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले देशमा चारदशकदेखि निर्वाचन भइरहँदा पनि अहिलेसम्म निर्वाचन प्रक्रियामा कुनै सुधार हुन नसकेको बताएका छन् ।
जनकपुरधाममा बुधबारदेखि सुरु भएको निर्वाचन सम्पर्क व्यक्तिहरुका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका छन् ।
२०३६ सालदेखिको निर्वाचनको तथ्यांक आयोगसंग रहेको उल्लेख गर्दै उनले भने,‘०३६ सालको जनमत संग्रहमा कति मत खस्यो,३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा कति मत खस्यो? कति बदर भयो? र ०४८ सालको निर्वाचनदेखि स्थानीय तह र अहिलेसम्मको सबैको मतदानको तीन ट्रेन एनालाइसिस गरेर हेर्दा खासै कही कतै सुधार भएको देखिएन ।’ आयोगको तथ्यांक विश्लेषण गर्दा करीब ७० प्रतिशत मतदानकै वरिपरि घुमिराखेको देखिएको छ भने मतबदरको संख्या करीब–करीब ५ प्रतिशतको वरिपरि घुमिरहेको उनले बताए ।
निर्वाचन हुन थालेको यतिका दिन बित्दा पनि किन सुधार भएन भन्ने प्रश्न गर्दै उनले भने,‘ किन कि हामीले मतदाता शिक्षालाई एउटा निरन्तर प्रक्रियाको रुपमा स्थापित गरेनौ, यो नागरिक शिक्षाको विषय हो, मतदाता शिक्षा भनेको एक दिन गएर भोट हाल्दा कहा निर भोट हाल्ने हो भन्ने होइन । मतदाता शिक्षा भनेको हरेक नागरिकले मतदान किन गर्नुपर्दछ, निर्वाचन किन आवश्यक छ ? निर्वाचनप्रतिको मेरो कर्तव्य के हो भनेर बोध हुनु हो ।’
मतदाता शिक्षा एवम् निर्वाचन शिक्षालाई अब विद्यालय शिक्षामा समावेश गर्नुपर्ने र पाठ्यक्रमको रुपमा यसलाई स्थापित गर्न सक्यौ भने आगामी दिनमा निर्वाचनमा मतदानको प्रतिशत बढ्ने र बदर मतको संख्या स्वतः घटेर जाने प्रमुख आयुक्त थपलियाले बताए । अहिलेको अवस्थामा हामीले मतदाता नामावलीमा दर्ता गराउनसमेत सचेत नरहेकोले लोकतन्त्रिक अभ्यास पनि कमजोर भएको उल्लेख गरे ।
आयुक्त थपलियाले स्थानीय सरकारबाट गर्न सकिने निर्वाचन सम्बन्धी कार्यहरु स्थानीय तहबाटै हुनुपर्ने धारणा राखे । लोकतान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त थलो गाउँपालिका र नगरपालिका रहेको बताउँदै निर्वाचन सम्बन्धी कामकाजहरु पालिकाबाटै गर्न सकिए त्यसले आयोगको खर्चमा समेत बचत हुने र जनताले निर्वाचन प्रक्रियाबारे नजिकबाट बुझ्न सक्ने धारणासमेत राखे । ‘जनतासंग सबैभन्दा नजीकको निकाय भनेको स्थानीय तह नै रहेको र स्थानीय सरकारले नै कसको नाम मतदाता नामावलीमा छैन