महोत्तरी - हुलाक सेवा विभागले देशकै सबैभन्दा ठूलो र ऐतिहासिक लक्ष्मीनारायण मन्दिर (मठ), मटिहानीको तस्बिर सहितको हुलाक टिकट औपचारिक रूपमा प्रकाशनमा ल्याएको छ ।

रु. १० अंकित मूल्यको सो टिकटमा मन्दिरको भव्य दृश्य तथा बाहिरी संरचनाको चित्र समेटिएको छ ।
उक्त टिकटमा सूचना तथा सञ्चार मन्त्री जगदीश पोखरेलले विशेष समारोहबीच टाँचा लगाएर प्रकाशन गर्नुभएको हो । यससँगै धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मटिहानीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा झल्किने विश्वास लिइएको छ ।

मटिहानी नगरपालिकाले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई देशभित्र र बाहिर परिचित गराउने उद्देश्यले २०८१ साल असार ११ गते हुलाक सेवा विभागमा टिकट प्रकाशनका लागि प्रपोजल सहित प्रस्ताव पेस गरेको थियो ।

सो प्रस्ताव स्वीकृत भएपछि विभागले विस्तृत अध्ययन, डिजाइन तथा मूल्याङ्कनको प्रक्रिया पूरा गरी टिकट प्रकाशन गरेको हो ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले टिकट प्रकाशन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै हुलाक सेवा विभाग र सूचना तथा सञ्चार मन्त्रालयप्रति आभार प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “लक्ष्मीनारायण मठ हाम्रो नगरको गौरव हो । यो टिकट प्रकाशनले मटिहानीको सांस्कृतिक पहिचान अझ फैलाउनेछ।”
लक्ष्मीनारायण मन्दिर (मठ) धार्मिक, पौराणिक तथा ऐतिहासिक रूपमा विशिष्ट मानिन्छ । यस मन्दिरलाई राजगुठीको रूपमा समेत संरक्षण गरिएको छ, र प्रत्येक वर्ष यहाँ हजारौं तीर्थालु दर्शन गर्न आउने गर्दछन् ।
यस ऐतिहासिक हुलाक टिकटको प्रकाशनले मटिहानीको धार्मिक सम्पदालाई राष्ट्रिय गौरवको रूपमा स्थापित गर्न ठूलो योगदान पुर्याउने विश्वास नगरवासीहरूले व्यक्त गरेका छन् ।




