महोत्तरी - काठमाडौंमा भाद्र २३ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा गोली लागी घाइते भएका महोत्तरीको औरही नगरपालिका–८ टिम्कियाका २६ वर्षीय संजित यादव घर फर्किएका छन्।

आन्दोलनकै क्रममा दाहिने खुट्टामा दुई ओटा गोली लागेपछि उनलाई उनका साथीहरूले तत्कालै काठमाडौं मेडिकल कलेज, सिनामंगलमा पुर्याई उपचारका लागि भर्ना गराएका थिए।

यादव करिब एक महिना अस्पतालमा उपचार गराएर असोज २१ गते घर फर्किएका हुन्। नेपाल सरकारले अस्पतालमा रहँदै गर्दा यादवको उपचार खर्च व्यहोरेको भए पनि अहिले उनी आफैंले थप उपचार गराइरहेका छन्। यादवका अनुसार, आन्दोलन सुरु हुनुअघि एक हप्ता अघिदेखि नै उनी काठमाडौं पुगेका थिए।

“सामाजिक सञ्जालबाट हेर्दा लाग्यो— युवाहरू परिवर्तनका लागि आन्दोलन गर्दैछन्। म पनि युवा हुँ, परिवर्तन जरुरी छ भन्ने सोचेर काठमाडौं गएको थिएँ,” यादवले भने। आन्दोलन भएको दिन भने नेतृत्व गर्ने कोही थिएन भन्ने यादवको भनाइ छ।

घाइते यादवका पिता राजकिशोर यादवले भने, “मेरो छोरा परिवर्तनका लागि लड्न गएको हो। ऊ घाइते भएको कुरा हामीले एक हप्ता पछि मात्र थाहा पायौं। छोरा परिवर्तनका लागि लडेकोमा मलाई गर्व छ, म उसको साथमा छु,” भन्दै आफ्नो धारणा व्यक्त गरे। यसैबीच, महोत्तरीबाट जेनजी आन्दोलनको नेतृत्व गर्दै आएका भाष्कर झा यादवले संजित यादवलाई अबिर र माला लगाएर सम्मान गरेका छन्।

उनले भने, “हाम्रो जिल्लाको एक जना युवा आन्दोलनमा घाइते भए। यसबारे प्रहरी, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी नहुनु र समाचारमा नआउनु दुःखद् कुरा हो।” झा यादव स्वयं पनि औरही नगरपालिका–१ निवासी हुन्।










