महोत्तरी - महोत्तरीको बर्दिवासमा ७ घण्टादेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
दुर्घटनाका घाइतेले औषधि उपचार नपाएको भन्दै पीडित पक्षले आन्दोलन गर्दै सडक बन्द गराएका थिए । बन्द राजमार्ग आइतबार साँझ ५:३० बजेदेखि सञ्चालनमा आएको हो ।
गत असोज १७ गते बर्दिवास ११ खयरमारामा भएको यात्रुवाहक बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए ।
पीडितका अनुसार बर्दिवास ११ खयरमाराको एकै परिवारका ४ जना घाइतेहरुमा ४१ वर्षकी गीताकुमारी विश्वकर्मा, छोरा २२ वर्षका हीरालाल, बुहारी बुद्धिमाया र भतिजी सुनिता विश्वकर्मा भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारत छन् ।
त्यस्तै, बर्दिवास १० का एकै परिवारका ४० वर्षका दिर्जमान गोले उनकी श्रीमती वर्ष ४४ की निर्मला तामाङ र छोरी १६ वर्षकी अस्मिता गोले र बर्दिवास ११ की २३ वर्षीया बिना बिसुंखे राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । पाटन अस्पतालमासमेत दुई जना बिरामी उपचार रहेका पीडित पक्षले बताएका छन् ।
ईश्वरपुर १२ घारीबथानका बस सञ्चालक तथा चालक नवराज बराललाई प्रहरीले नियन्त्रणमा लिएसँगै सोमबार पीडित पक्ष,यातायात व्यवसायी संघ र गाडी सञ्चालकसहित त्रिपक्षीय वार्ता गर्ने सहमतिपछि राजमार्ग खुलाउन सहमति भएको बर्दिवास ११ का अध्यक्ष गोपाल बलले बताए ।-कान्तिपुर




