महोत्तरी - बस दुर्घटनाका घाइतेलाई बर्दिबास नगरपालिकाबाट आर्थिक सहयोग -नगरप्रमुख क्षेत्रीद्वारा अस्पतालमै पुगेर भेटघाट खयरमारामा असोज १७ गते भएको बस दुर्घटनामा घाइते भएका बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिन बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रहलादकुमार क्षेत्री आज काठमाडौँस्थित विभिन्न अस्पतालहरूमा पुग्नुभएको छ।
नगरप्रमुख क्षेत्री बीपी यातायातका प्रतिनिधिहरूसहित काठमाडौँ पुग्नुभएको थियो। उहाँले हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौं लैजाँदा लागेको रु. ५ लाख रकम तत्काल बर्दिबास नगरपालिकाबाट उपलब्ध गराउने व्यवस्था गर्नुभएको छ। त्यसैगरी, घाइतेहरूको उपचारमा सहयोगस्वरूप बीपी यातायात व्यवसायी साथीहरूलाई समेत अनुरोध गर्दै नगरप्रमुखले ट्रमा सेन्टरमा उपचाररत सुमित्रा बिकलाई पहिलो चरणमा रु. १,५०,०००, बिना बिसंखेल र अस्मिता गोलेलाई रु. ५०,०००–५०,००० प्रदान गर्नुभएको छ।
दोस्रो चरणमा पुनः सुमित्रा बिकलाई रु. ७०,००० र बिना बिसंखेल तथा अस्मिता गोलेलाई रु. ६५,०००–६५,००० थप नगद सहयोग हस्तान्तरण गरिएको छ। नगरप्रमुख क्षेत्रीले भने, “पैसाको अभावमा कुनै पनि घाइतेको उपचार रोकिने छैन, नगरपालिकाले आवश्यक सहयोग जारी राख्नेछ।” उहाँका अनुसार भोलि सम्बन्धित सबै पक्षबीच बैठक बसेर थप छलफल गरी दीर्घकालीन समाधानको पहल गरिनेछ।
बर्दिबास नगरपालिकाले दुर्घटनापछिका उद्धार, उपचार र सहयोगका सबै पहललाई प्राथमिकताका रूपमा लिएको जनाएको छ।




