काठमाडाँै- अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको छ । सरकारले निर्वाचनकेन्द्रित भइसकेको पनि बताइसकेको छ, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचनको वातावरण लागिपरेका छन् ।
तर जुन जनआन्दोलनले यो राजनीतिक परिवर्तनको ढोका खोल्यो, त्यसका मुख्य सरोकारवाला जेनजी समूह भने निर्वाचनसँग प्रत्यक्ष जोडिने तयारीमा किन छैनन्, स्पष्ट र एकीकृत तयारीमा उनीहरू देखिएका छैनन् ।
उनीहरूका विभिन्न समूहहरूबिच राजनीतिक दल गठन गर्ने र चुनावी प्रक्रियामा कसरी सहभागी हुने भन्ने विषयले मूर्त रूप लिइसकेको छैन ।
‘जेनजीको पार्टी कहिले आउँछ र कस्तो आउँछ’ कौतहुल पनि छ, सँगै अनुत्तरित पनि । निर्वाचनको मिति नजिकिँदै गर्दा जेनजी समूहहरूले दल खोल्ने विषयमा पर्याप्त गृहकार्यसमेत नगरेको अवस्था छ ।
जेनजीहरूको एक समूहले भेट गर्न जाँदा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. राम प्रसाद भण्डारीले जेनजीहरूलाई छिटोभन्दा छिटो दल बनाएर निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेका थिए । उनले दलसँग छलफल गर्दा जेनजीहरूको आवाजलाई मान्यता दिइने र निर्वाचनमा सहभागी हुन दल गठन गर्नु नै एकमात्र विकल्प भएको स्पष्ट पारेका थिए । तर, आयोगको यो आग्रहले जेनजी समूहहरूलाई एउटै छातामुनि ल्याउन वा उनीहरूलाई ठोस निर्णयमा पुर्याउन अझै सफल भएको देखिएको छैन ।
जेनजी आन्दोलनपछि विभिन्न समूह र उप–समूहहरू देखापरेका छन्, जसका आ–आफ्नै धारणा र प्राथमिकताहरू छन् । यो विविधताले पार्टी गठनको प्रक्रियालाई थप जटिल बनाएको छ । ‘जेनजी मुमेन्ट अलायन्स’ले दल खोल्ने खासै तयारी नभएको जनाएको छ ।
यद्यपि उनीहरूका केही साथीहरू आ–आफ्नै ढंगले सक्रिय रहेका भए पनि राजनीतिक दल खोल्ने ठोस योजना वा कार्यदिशा केही छैन । अलायन्समा ३९ जिल्लाका प्रतिनिधिसहित १२ वटा समूह रहेको दाबी गरिएको छ ।
अर्का जेनजी अगुवाका रूपमा काम गरिरहेका ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ भने आन्तरिक तयारीमा जुटेका छन् । उनीनिकट स्रोतका अनुसार हर्क साम्पाङ र बालेन सचिवालय समेत सम्पर्कमा छन् । दल खोल्नेचाहिँ निश्चित भए पनि को–कोसँग सहकार्य गर्ने भन्ने विषय भने टुंगो लागेको छैन । उनको समूहले चुनावमा भाग लिने तर सरकारमा सहभागी नहुने अडान लिएको छ ।
_5DjZQ0bYGB.jpg)
यद्यपि सुदन गुरुङले पछिल्लो समयमा सरकारी कार्यालयमा गएर निर्देशन दिँदै आएका छन् । उनले संविधान ‘च्यात्ने कि राख्ने’ भन्नेमा आफू दुविधामा रहेको समेत बताएका छन् । उनको यी कार्यहरूलाई लिएर स्थापित राजनीतिक दलहरूले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्, जसले गर्दा जेनजी आन्दोलनभित्रै पनि नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न उठेका छन् ।
जेनजी अगुवा रक्षा बम, युजन राजभण्डारी लगायतको टोली पनि पार्टी आवश्यक रहेको स्वीकार गरेका छन्, आन्दोलनपछि प्रधानसेनापतिसँग वार्ता गरेर उनीहरू चर्चामा आएका थिए । उनीहरूको समूह अहिले माहोल शान्त पार्नुपर्ने र चुनावी वातावरण सिर्जना गर्नुपर्ने लबिङ गरिरहेको छ ।
उनीहरूले ‘पार्टी आवश्यक छ, अहिले नखोले कहिले खोल्ने भन्ने प्रश्न पनि छ, तर अहिले माहोल शान्त बनाउनुपर्ने जिम्मेवारी पनि हामी सबैको हो । त्यसकारण निर्णय भइसकेको छैन’ भनेका छन् । यो समूहले संविधानलाई तत्काल चलाउन नहुने र चुनाव केन्द्रित भएर अघि बढ्नुपर्ने सोच राखेको देखिन्छ ।
आन्दोलन अगाडि नै सामाजिक सञ्जालमा भाइरल भएर अहिले केही जेनजी समूहहरूको नेतृत्व गरिरहेका मिराज ढुंगाना भने प्रत्यक्ष कार्यकारीको चुनाव हुनुपर्ने अडानमा छन् । दल खोल्नेबारे भने उनले पनि स्पष्ट पारेका छैनन् ।
यस्तै आन्दोलनमा चर्को भाषण गरेर भाइरल भएका प्रवेश दाहाल भने अहिले जेनजीहरूलाई एकताबद्ध गर्न स्थानीय तहसम्म भेला हुन आह्वान गरिरहेका छन् । उनले पछि यो समूहलाई पार्टीको रूपमा लिन सक्ने विभिन्न स्थानमा भाषण पनि गरेका छन् ।
दलप्रति छैन विश्वास, आफ्नै शक्ति बनाउन पनि चुनौती
जेनजी आन्दोलनलाई नियालिरहेका विश्लेषकहरू समेत जेनजी आन्दोलनले नेपालको राजनीतिमा नयाँ चेतना र ऊर्जा ल्याए पनि यसलाई एकताबद्ध राजनीतिक शक्तिको रूपमा परिणत गर्न विभिन्न चुनौती देखिने बताउँछन् ।
जेनजी आन्दोलन स्वतःस्फूर्त र नेतृत्वविहीन रूपमा उठेकाले यसमा विभिन्न विचार र दृष्टिकोण भएका समूहहरू देखापर्नु स्वाभाविक हो, तर यसले एउटै छातामुनि रहेर दल खोल्ने निर्णय लिन कठिनाई छ ।
प्रत्येक समूहका आ–आफ्नै प्राथमिकता र कार्यशैली भएकाले पनि समस्या उत्पन्न गराइरहेका छ ।
निर्वाचनमा सहभागी हुनका लागि राजनीतिक दल गठन गर्नु मात्र पर्याप्त हुँदैन, यसका लागि स्पष्ट विचार, सिद्धान्त, घोषणापत्र, संगठन संरचना, वित्तीय स्रोत र चुनावी रणनीति आवश्यक हुन्छ । जेनजी समूहहरूले यी कुनै पनि विषयमा ठोस र एकीकृत गृहकार्य गरेको देखिँदैन । दल खोल्ने ‘होमवर्क’ को कमीले उनीहरूको चुनावी सम्भावनालाई कमजोर बनाएको छ ।
जेनजी पुस्तामा स्थापित राजनीतिक दलहरू र तिनका नेताहरूप्रति गहिरो अविश्वास छ । यही अविश्वासका कारण उनीहरू आफैं दल खोल्न वा कुनै दलमा सामेल हुन हिचकिचाइरहेका छन् । उनीहरूलाई परम्परागत राजनीतिको दलदलमा फस्ने डर पनि देखिन्छ । त्यस्तै, केही समूह तत्काल सरकारको गतिविधिमाथि निगरानी राख्ने र सुधारका लागि दबाब दिने पक्षमा छन् भने केही प्रत्यक्ष रूपमा चुनावी राजनीतिमा होमिन चाहन्छन् ।
यो अल्पकालीन र दीर्घकालीन लक्ष्यहरूबिचको भिन्नताले पनि पार्टी गठनको विषयलाई जटिल बनाएको देखिन्छ । आन्दोलनका सहिद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्न छुट्टै राजनीतिक दल खोल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

छिटोभन्दा छिटो जेनजी समूह जम्मा भएर राष्ट्रिय राजनीतिक पार्टी गठन अपरिहार्य रहेको उनीहरूले नै बताएका छन्, तर यो दबाबलाई पनि जेनजी समूहहरूले एकीकृत रूपमा सम्बोधन गर्न सकेका छैनन् ।
‘मुद्दामा संयोजनककारी भूमिका आवश्यक छ’
राजनीतिक विश्लेषक कैलाश राई यस विषयमा फरक दृष्टिकोण प्रस्तुत गर्छिन् । हरेक कुरामा एकरूपता खोज्ने अवधारणा नै समस्याग्रस्त रहेको उनी बताउँछिन् । सुदन गुरुङको टिम, मिराज ढुंगाना, रक्षा बमलगायत सबै जेनजीहरू एउटै ब्यानरमुनि आउनुपर्छ भन्ने माग पूरा हुने उनी देख्दिनन् । युवा समूहहरूभित्रको विभाजन नयाँ नभई समाजमा विद्यमान फरकपनको प्रतिबिम्ब भएको उनले तर्क गरिन् ।
राईले जेनजीका विभिन्न समूहले प्रस्तुत गरिरहेका फरक–फरक दृष्टिकोणहरूलाई राम्रोसँग केलाउनुपर्नेमा पनि जोड दिइन् । यी फरक मुद्दा र एजेन्डाहरूलाई समन्वयकारी स्वरूपमा एकै ठाउँमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको सुझाव छ । यसका लागि कुनै व्यक्ति, एजेन्सी वा टिमले समन्वयकारी भूमिका खेल्नुपर्ने र त्यसले विभिन्न दृष्टिकोण, मुद्दा र एजेन्डाहरूलाई छलफलको टेबलमा ल्याउन सकिने बताइन् ।
‘यसले जेनजीको फुटमाथिको शंकालाई सकारात्मक रूपमा सम्बोधन गर्दै अगाडि बढ्ने बाटो दिन्छ, आन्दोलनमा अहिले पनि धेरैको संलग्नता रहेको र यसको बाहिरी नतिजा नदेखिए पनि भित्री रूपमा सक्रिय छन्,’ उनले भनिन् ।
अर्का राजनीतिक विश्लेषक जेबी विश्वकर्मा भने निर्वाचनमा जेनजी सहभागी हुनुको विकल्प नभएको तर उनीहरूको वैकल्पिक राजनीतिक बाटोबारे स्पष्टता अभाव रहेको औंल्याउँछन् । ‘जेनजी एउटा राजनीतिक संगठन नभई उमेर समूह भएकाले यसको सक्रियतामा केही सीमाहरू छन् र सुरुमा सामाजिक विकृतिविरुद्धको विद्रोहका रूपमा सुरु भएको आन्दोलनले अहिले राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाउन थालेको छ,’ उनी भन्छन् ।
विश्वकर्माका अनुसार जेनजीले तत्कालै ठुलो र एकीकृत पार्टी बनाउने सम्भावना कम छ, यद्यपि साना संगठनहरू बन्ने र पछि ठुलो रूप लिने सम्भावना भने छ । तर वैचारिक स्पष्टताबिनाका प्रयासहरूले रचनात्मक नतिजा ल्याउन नसक्ने उनी खतरा देख्छन् । परम्परागत राजनीतिको सत्ताकेन्द्रित प्रवृत्तिलाई चुनौती दिँदै गणतन्त्र, संघीयता र समावेशीकरणजस्ता लोकतान्त्रिक उपलब्धिहरूमा खतरा नपुग्ने गरी स्पष्ट विचार, दृष्टिकोण र कार्यक्रमसहित नयाँ राजनीतिक परिपाटी आवश्यक रहेको उनको बुझाइ छ ।
युवामा देखिएको आवेग र आक्रोशलाई राजनीतिक रूपमा सम्बोधन गर्न नसके अराजकता वा प्रतिगमनको जोखिम बढ्ने पनि उनले चेतावनी दिए । जेनजीले विद्यमान पार्टीभित्र रहेर पनि राष्ट्रिय स्वाधीनता, जनताका आधारभूत अधिकार, आर्थिक विकास र विभेदको अन्त्य जस्ता मुद्दाहरूमा सम्झौता नगरी रूपान्तरणका लागि दबाब दिनुपर्नेमा विश्वकर्माले जोड दिए ।

जहाँबाट उठेका, त्यहीँ प्रश्न
सामाजिक सञ्जालबाट सडक हुँदै सरकारलाई समेत ढालेर नयाँ सरकार गठन गरेको जेनजीहरूलाई सामाजिक सञ्जालमै प्रश्न आउन थालेका छन् । सञ्जालमा यदि जेनजी समूहहरूले अन्ततः राजनीतिक दल गठन गरे भने त्यसको स्वरूप कस्तो होला भन्ने विषयमा पनि धेरै अड्कलबाजीहरू छन् ।
उनीहरूका अहिलेका अभिव्यक्तिहरू हेर्दा सम्भावित दलका विशेषताहरू भ्रष्टाचारविरोधी, युवाकेन्द्रित, प्रत्यक्ष कार्यकारीको माग गर्ने, संस्थागत सुधारको पक्षधर र डिजिटल प्लेटफर्मको प्रयोग गरी नयाँ शैलीको राजनीतिक अभियान चलाउने खालका हुन सक्छन् ।
तर यी विशेषताहरूलाई एउटै वैचारिक धरातलमा कसरी ल्याइन्छ र त्यसलाई कसरी घोषणापत्रमा समेटिन्छ भन्ने कुरा पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ, किनकि जेनजी समूहबिच संविधानलाई चलाउने वा नचलाउने, तत्काल चुनावमा जाने वा सुधारपछि जानेजस्ता मूलभूत विषयमा समेत भिन्नताहरू देखिन्छन् ।
हालको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचनअघि जेनजीका सबै समूह एकीकृत भएर एउटै शक्तिशाली राजनीतिक दलका रूपमा आउने सम्भावना न्यून देखिन्छ । दल खोल्ने तयारीमा रहेका सुदनको समूह र तत्काल संविधान चलाउन नहुने भन्दै निर्वाचनको वातावरण बनाउनुपर्ने तर्क गर्ने रक्षा बम लगायतका समूहबिचमै स्पष्ट मतभेदहरू छन् ।
यदि जेनजीले एकीकृत दल बनाउन नसके यसका केही सम्भावित परिणामहरू हुन सक्छन् । जेनजी आन्दोलनबाट प्रभावित केही व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिन सक्छन्, जसरी काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारहरूले सफलता पाएका थिए । केही जेनजी अभियन्ताहरूले आफ्नो विचार मिल्ने स्थापित राजनीतिक दलहरूसँग सहकार्य गरेर निर्वाचनमा होमिन सक्छन् । विवेकशील साझा पार्टीले त जेनजी पुस्ताका अभियन्ताहरूसँग सहकार्य गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध लड्न बृहत्तर एकताको आह्वानसमेत गरिसकेको छ, जसका लागि पार्टीको नाम र चुनाव चिह्नसमेत परिवर्तन गर्न तयार रहेको जनाएको छ ।
यदि जेनजीले आफूलाई प्रतिनिधित्व गर्ने कुनै ठोस विकल्प नदेखे उनीहरूमा चुनावी सहभागिताप्रति उदासीनता बढ्न सक्छ, जसले समग्र निर्वाचनको नतिजामा असर पार्न सक्छ । विभिन्न समूहहरूबिचको एकताको कमी, स्पष्ट रणनीतिक गृहकार्यको अभाव र पार्टी गठनको विषयमा आन्तरिक द्विविधाले जेनजीको राजनीतिक भविष्यलाई अनिश्चित बनाएको छ ।

तर नयाँ दल खोल्नेबित्तिकै शक्ति निर्माण हुने र निर्णायक बन्छन् भन्ने अवस्था पनि छैन, किनकि पछिल्लो समय वैकल्पिक भनिएकाहरू कि त फुट कि त कलहको मारमा परेका छन् । विवेकशील साझा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूमा देखिएका विवादले यो पुष्टि गर्छ ।
तर फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा, जेनजी समूहहरूले कस्तो निर्णय लिन्छन् र त्यसले नेपालको भावी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ । यदि उनीहरू संगठित हुन नसके ‘फ्रेस म्यान्डेट’ का लागि उठेको आन्दोलनको चुनावी लाभ स्थापित दलहरूले नै उठाउने खतरा पनि उत्तिकै छ ।-रातोपाटी




