महोत्तरी - सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोही स्थानका ७० वर्षीय साह शनिबार राति करिब २ः१५ बजे मन्दिर नजिकैको कुटी अगाडिको बाटोमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो। ढाडको पछाडिबाट गोली लागी नाभी वरिपरि प्वाल बनेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो।
घटनास्थलबाट दुई थान गोलीको खोका फेला परेको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्ति फरार रहेका र उनको पहिचान नखुलेको बताइएको छ। नेपाल–भारत सीमा नजिकै घटना भएकाले सिमावर्ती क्षेत्रमा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ।
विगत लामो समयदेखि कबिर बाबा मन्दिरमा पुजापाठ गर्दै आएका पुजारी साह मन्दिर नजिकैको कुटीमा एक्लै बस्दै आएका थिए। धार्मिक व्यक्तिमाथि भएको यो घटनाप्रति स्थानीयवासीले गहिरो दुःख व्यक्त गर्दै अपराधीलाई चाँडो पक्राउ गर्न माग गरेका छन्।
प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।




