अजय शाह,गौशाला(महोत्तरी) - दिपावली समापनसँगै मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रुपले जुटेका छन् ।
छठका लागि महोत्तरीको सदरमुकाम जलेश्वरसहित सबै गाउँ शहरका पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको समाजशास्त्री नागेन्द्र दुबेले जानकारी दिनुभयो।
यस पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा पानी मै गरिने भएकाले महोत्तरी सहित सम्पूर्ण मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मतको काममा जुटेको स्थानीय संचारकर्मी समेत रहेका औरही नगरपालिका युवा धर्वेन्द्रकुमार यादवले बताउनुभयो।
प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरी सहित जिल्लाका अन्य स्थानीय तह समेतको सहयोगमा घाटहरूमा सरसफाइ र सजावट लगायतका काम भइरहेको छ ।
जलेश्वरस्थित बरुण सर पोखरीमा नगरपालिकाको तर्फबाट घाटहरूमा रंगरोगनका साथै सरसफाइ गरिएपछि घाट विगतकोभन्दा निक्कै आकर्षक देखिएको छ । पोखरीमा निजीस्तरबाट दुईथान बोट समेत सञ्चालन गरिएको छ ।
यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमा क्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित बिग्ही नदीको किनारमा समेत छठको तयारी थालिएको छ। महोत्तरी जिल्लाको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर–रामपुरमा छठ पर्व मनाउनका लागि बिग्ही नदी (खोला) किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्ट सहित भव्य छठघाट निर्माण गर्न थालिएको छ। यो छठघाट सम्भवतः नेपाल कै सबैभन्दा लामो दूरीमा निर्माण गरिएको छठघाट को रुपमा चिनिन्छ। यस छठघाटलाई नेपाल–भारत मैत्री र सांस्कृतिक संगम स्थलका रूपमा पनि चिनिन्छ।
महोत्तरी, धनुषा तथा भारतको मधवापुर र वरिपरिका स्थानीयले सोही नदीमा संयुक्त रूपमा छठ मनाउँदै आएका छन्। राष्ट्रियताका हिसाबले फरक भएपनि यी स्थानमा धार्मिक र सांस्कृतिक हिसाबले एकरूपता र सहिष्णुता देखिन्छ।
विगतमा मधेसी समुदायले मात्र मनाउँदै आएको मिथिलाको मुख्य पर्व छठ अहिले आएर देश भरि पहाडी समुदाय लगायत मुश्लिम धर्माम्बलम्बीहरुले समेत मनाउन थाले देखि यसको महत्व दिन दिनै बढी रहेको छ।
चार दिवसीय छठ पर्व शनिवार देखि विधिवत सुरु हुँदैछ। छठ पर्वको पहिलो दिन शनिवार नहाय खाय, दोस्रो दिन आइतवार खरना र तेस्रो दिन सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य र अन्तिम दिन मंगलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठको विधिवत समापन गरिन्छ।
यता छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि पनि हाट बजारमा भिडभाड देखिएको छ। बजारमा अघ्र्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखु लगायतका सामग्रीहरू किन्नेको भिड छ।
यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टी, बर्दिवास लगायतका स्थानमा पोखरी, तलाव, नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानमा पनि धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताउनुभयो ।
यसैगरी, छठ पर्वको अवसरमा संघीय सरकारको छठ पर्वको मूल पूजा कार्तिक १० गते सार्वजनिक विदा रहेकोमा मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो। मन्त्रालयका अनुसार प्रदेश सरकारले कार्तिक ११ गते मंगलबारका दिन मधेश प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
यो विदा प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना अन्तर्गत थप गरिएको हो। -गोरखापत्र




