महोत्तरी - तराई–मधेसमा विशेष महत्त्व राख्ने “समाचकेवा पर्व” थारू र मैथिली समुदाय बीच हर्षोल्लासका साथ मनाइदैछ । यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै गीत, नाच र पारिवारिक आत्मीयताका साथ मनाउने गर्दछन् ।

मिथिल्लाञ्चलका गाउँहरू अहिले समाचकेवाका गीतले गुन्जिरहेका छन् । चेलीहरूले गाउँगाउँमा समूह बनाई दाजुभाइको चिरायुका कामना सहित पारम्परिक गीत गाउने र उत्सवमय माहोल सिर्जना गर्ने गर्छन् । यो बेला गाउँमा एक किसिमको सांस्कृतिक सिनेमा प्रदर्शन भएको जस्तो दृश्य देखिन्छ ।

दसैं, तिहार र छठपछि तराई क्षेत्रमा मनाइने अन्तिम ठूलो पर्वका रूपमा समाचकेवा हरेक वर्ष विशेष रूपमा मनाइन्छ ।औरही नगरपालिका–२ की मञ्जु कुमारी यादव “यदुवंशी” का अनुसार, “सामा भनेको दिदीबहिनी र चकवा भनेको दाजुभाइ हो । यो पर्वले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ मजबुत बनाउँछ ।” उनले समाजमा विद्यमान फटाहा र कुरौटे प्रवृत्तिका विरुद्ध सन्देश दिने उद्देश्यले चुगलाको जुँगा जलाउने परम्परा रहेको बताइन् ।

पर्वको आरम्भसँगै महिलाहरूले “चुगला” र “कुचोको मसाल” बनाएर गाउँ–टोल परिक्रमा गर्ने चलन छ । त्यसपछि सामूहिक रूपमा सार्वजनिक स्थलमा कुचोको मसालमा आगो बालिन्छ र त्यही मसालबाट चुगलाको जुँगा जलाइन्छ । स्थानीयको विश्वास अनुसार, यसरी चुगलाको जुँगा जलाउने परम्पराले समाजमा फटाहा र चुगली प्रवृत्तिका व्यक्तिहरूले जरा गाड्न नपाउने सन्देश दिन्छ ।

गौशाला नगरपालिका–४ गौशालाकी बिनिता महतो र औरही नगरपालिका–१ की राखी साहका अनुसार, “समाचकेवा” पर्वमा माटोका भाँडो र मूर्तिहरू पूजा गरिन्छ । दाजुभाइ र दिदीबहिनीको प्रतीकका रूपमा बनाइने माटोको समाचकेवा पूजनीय हुन्छ ।स्थानीय समाजसेवी दरेश यादवका भनाइअनुसार,कार्तिक पूर्णिमाका दिन चेलिबेटीहरूले दाजुभाइलाई मीठा परिकार खुवाएर दीर्घायुको कामना गर्दै आशीर्वाद दिने गर्छन् । भोलिपल्ट विधिपूर्वक पूजाआजासहित पर्वको समापन गरिन्छ ।

पर्वको अवसरमा बजारमा थरीथरीका माटाका समाचकेवाका मूर्तिहरू बिक्री भइरहेका छन् । केही चेलीहरूले आफ्नै हातले मूर्तिहरू बनाउने गर्छन् भने कतिपयले बजारबाट खरिद गर्छन् ।तराई–मधेसका गाउँहरूमा आजकल समाचकेवाका गीत, हाँसो र उल्लासले भरिएका दृश्य देखिन्छन् । यस पर्वले पारिवारिक सम्बन्धमा आत्मीयता र सामाजिक एकता सुदृढ पार्ने परम्परा जोगाइरहेको स्थानीयवासीहरूको भनाइ छ ।





