काठमाडौं - दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । नवी मुम्बईमा आइतबार भएको फाईनलमा भारतमा उपाधि हात पारेको हो ।
दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियएको हो । भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् ।
दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट एक सय एक रन बनाइन् । त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।
यसअघि भारत र दक्षिण अफ्रिका महिला एकदिवसीय क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलिसकेका छन् । उक्त खेलहरुमा भारतले २०, दक्षिण अफ्रिकाले १३ र एक खेल बराबरीमा टुंगिएको छ ।
भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएर उनीहरु फाइनलमा पुगेका हुन् ।




