काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ ।
उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि सीनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।



आलमलाई दसैँ अघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
आलमको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले राससलाई जानकारी दिए ।
आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए ।
उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो ।




