जनकपुरधाम – मधेस प्रदेशसभाको बैठक चलिरहेको समयमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा कालोमोसो दलेका छन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान गरेका बेला बोल्दै अन्सारीले प्रदेशसभामा रहेका कुनै पनि सदस्यमा सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने घोषणा गरे। उनले भने, “आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कसैसँग पनि सरकारको नेतृत्व गर्ने अधिकार छैन।”



अन्सारीले जनताको मर्म र अपेक्षा अनुसार काम गर्न प्रदेशसभा असफल रहेको टिप्पणी गर्दै सबै सांसदले आत्म–आलोचना गर्नुपर्ने बताए। उनका अनुसार, वर्तमान परिस्थितिमा प्रदेशसभाबाट नै राजनीतिक निकास सम्भव छैन।
अन्सारीको वक्तव्यलगत्तै माओवादी केन्द्रकै अर्की सांसद माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन्। उनले केन्द्रले नै प्रदेश सरकारका निर्णय नियन्त्रण गरिरहेकाले आफू त्यस्तो निर्णयमा बाँधिन नसक्ने बताइन्।
प्रदेशसभामा विश्वासको मतको प्रक्रिया जारी छ।




