जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिएको राजीनामा स्वीकृत भएको छ । शनिवार प्रदेशसभालाई सम्बोधन गर्दै सोनलले राजीनामा दिएका थिए ।
सोनलले आज प्रदेशसभा बैठकमै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। विश्वासको मतका लागि समय तोकिएकै दिन उनले सदनमा आफ्नो पदत्याग घोषणा गरेका थिए।
मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि सदनमै राजीनामा घोषणा गर्दै आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सोनलले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् ।
साथै नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको प्रमुख प्रमुख कार्यालयको तर्फबाट निजी सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।








