महोत्तरी - दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु तथा अन्य अल्पसंख्यक समुदायमाथि जारी आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता तथा विभेदको अन्त्य गर्ने उद्देश्यले महोत्तरीको जलेश्वरमा जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले उत्पीडित समुदायको हक–अधिकार, समान प्रतिनिधित्व र न्याय सुनिश्चितताका लागि सबै समुदाय एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।
परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उपस्थित रहनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले दलित, आदिवासी, थारु, पिछडावर्ग तथा अल्पसंख्यक समुदायले देशका विकास र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै, “यी समुदायको श्रम नहुँदो हो त देशमा विकाससमेत हुने थिएन,” भन्दै उनीहरूको मेहनत र भूमिकाको प्रशंसा गर्नुभयो ।

राज्यबाट लामो समयदेखि उपेक्षित ती समुदायलाई संगठित भएर आफ्नो अधिकारका लागि संयुक्त आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै यादवले जनसंख्याको आधारमा राज्यका सबै निकायमा समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यी समुदायहरू आफ्नै अधिकारबाट बञ्चित भइरहे भने लोकतन्त्रको कुनै अर्थ रहँदैन ।”
विशेष अतिथी पूर्व स्वास्थ्य राज्य मन्त्री तथा जसपा नेपालका केन्द्रीय सदस्य डा. सुरेन्द्र कुमार यादवले दलित, थारु, आदिवासी जनजाति, पिछडावर्ग तथा अल्पसंख्यक समुदायसँग सम्बन्धित संघ–संस्था र अगुवाहरूले राष्ट्रिय पहिचान, मानव अधिकार, समान प्रतिनिधित्व, गुणस्तरीय शिक्षा–स्वास्थ्य र रोजगारीका अवसर सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सहभागीहरूले विभेद र शोषण विरुद्ध एकीकृत, दीर्घकालीन र सशक्त आन्दोलन आवश्यक रहेको बताउँदै आपसी एकता र समन्वयलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका अध्यक्ष तथा परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले एक साताभित्र महोत्तरी जिल्ला तदर्थ समिति गठन गरिने जानकारी दिँदै, जिल्लाभरका उत्पीडित समुदायको मुद्दा एकढिक्का रूपमा अघि बढाइने बताउनुभयो ।
कार्यक्रमले नेपालमा विद्यमान संरचनागत विभेद, पहुँच असमानता र सामाजिक अन्याय अन्त्य गर्दै समानता, न्याय र सम्मानपूर्ण सहअस्तित्वको दिशामा नीतिगत तथा व्यवहारगत परिवर्तनको मार्ग खुल्ने विश्वास व्यक्त गरेको छ ।




