महोत्तरी — महोत्तरी जिल्लाको औरही नगरपालिका–१ स्थित ऐतिहासिक औरही बजार कुनै समय व्यापार, सामाजिक चेतना र बौद्धिक गतिविधिको केन्द्रका रूपमा परिचित थियो। तर समयसँगै यसको पहिचान र रौनक म्लान बन्दै गएको छ। अहिले विकास र परिवर्तनका कुरा चिया पसलको गफसम्म मात्रै सीमित छन्।
औरही नगरपालिका–२ मा रहेको श्री प्रसाद सिंह माध्यमिक विद्यालय महोत्तरीकै पहिलो सामुदायिक विद्यालयका रूपमा इतिहासमा दर्ज छ। २०१३ सालमा स्थापना भएको यस विद्यालयले प्रारम्भिक दिनमा महोत्तरी र सर्लाहीका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्थ्यो। टिनको छानाले छाएको सानो भवनमा सीमित स्रोतसाधनबीच पनि शिक्षाको स्तर उत्कृष्ट थियो। त्यसबेला छात्रावास व्यवस्था पनि रहेको यो विद्यालयले जिल्लाको शैक्षिक उन्नतिमा उल्लेखनीय भूमिका खेलेको थियो।
तर समय परिवर्तनसँगै विद्यालयको चमक मन्द हुँदै गयो। गाउँ–गाउँमा नयाँ विद्यालयहरू खुलेपछि विद्यार्थी संख्या घट्दै गयो र विद्यालय स्थानीय सीमाभित्रै सिमित रह्यो। भवनहरू पक्की र सुन्दर बने पनि शिक्षण–अधिगमको गुणस्तर घट्दै गयो। ‘नमुना विद्यालय’ घोषणा गरिएको भए पनि अपेक्षित सुधार हासिल हुन सकेको छैन। अहिले यहाँ मुख्यतः विपन्न वर्गका विद्यार्थी मात्रै अध्ययनरत छन्, जसले शिक्षाको समग्र गुणस्तरमा असर पारेको स्थानीयहरूको भनाइ छ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता र युवाहरू विद्यालयको अवस्थाबारे चिया पसल र पान पसलमा दैनिक बहस गर्छन्, तर ती बहस व्यवहारमा रूपान्तरण हुन सकिरहेका छैनन्। विद्यालय सुधारको कुरा गर्नेहरू विद्यालयमा पुग्ने वा ठोस कदम चाल्ने पक्षमा सक्रिय छैनन्।
अझ दुःखको कुरा त के भने, सुधारको आवाज उठाउनेहरूलाई नै दबाउने प्रवृत्ति बढ्दै गएको छ। आलोचकहरूलाई धम्की, आरोप र कानुनी जालोमा फसाउने चलनले गाउँमा सत्य बोल्ने संस्कृतिलाई कमजोर बनाएको छ।
आजको औरही बजार मौनताको छायाँमा हराउँदै गएको छ। कहिल्यै गर्व गर्ने शिक्षा र चेतनाको केन्द्र अहिले दिशाविहीन र निस्तेज देखिन्छ।
अब समय आएको छ — मौनता तोड्ने र साझा जिम्मेवारी लिनुपर्ने। केवल चिया पसलमा आलोचना गरेर परिवर्तन सम्भव छैन। विद्यालय सुधार, युवा सशक्तीकरण र राजनीतिक चेतनाको व्यवहारिक अभ्यासमार्फत मात्र औरहीलाई पुनःजीवित बनाउन सकिन्छ।
यदि अब पनि समुदाय निष्क्रिय रह्यो भने, इतिहासले औरहीलाई गौरवको होइन, उदासीनताको प्रतीकका रूपमा सम्झिनेछ।


