जनकपुरधाम । मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्ति गरिएकोमा कांग्रेस, माओवादी , लोसपा, जसपा सहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन्।
नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शन गरिरहेका छन्। नेता कार्यकर्ताहरूले टायर बालेर पनि विरोध प्रदर्शन गरिरहेका छन्।

विरोध प्रदर्शन गर्दै उनिहरुले प्रदेश प्रमुख र मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड गर्नुका मन्त्रालयहरुमा तालबान्दी गरेका छन् ।
प्रदेश प्रमुखको विरोधमा नाराबाजी गर्दै उनीहरुले 'संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने' र मुख्यमन्त्रीको नियुक्ती बदर हुनु पर्ने माग गरेका छन् ।

यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने सात दलका नेता कार्यकर्ताको संख्या पनि थपिँदो छ।
कार्तिक २२ गते तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष माग पत्र बुझाएका थिए।
तर प्रदेश प्रमुख भण्डारीले सोमबार एका बिहानै जनकपुर बाहिर बर्दिवास स्थित एक होटेलमा गएर संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरि सपथ ग्रहण नै गराएपछि दलहरू विरोधमा उत्रिएका हुन्।
प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिवास 3 स्थित पानस कटेज होटेलमा मुख्यमन्त्री नियुक्त गरी त्यहीँ शपथग्रहण गराएकी थिइन्। लगत्तै मुख्यमन्त्री यादवले एमाले, राप्रपा र संघीय समाजवादी समेतलाई समेटेर मन्त्रिपरिषद् समेत विस्तार गरेका थिए।
प्रदेश प्रमुखको कार्यशैले द्वन्द्व सृजना हुने भयो : निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले उनको कार्यशैले द्वन्द्व सृजना हुने स्थिती पैदा भएको बताए ।
सोनलले प्रदेश प्रमुखबाट संविधान, संघीयतामाथि समेत आँच आउने काम भएको आरोप लगाए । ‘उहाँले बिरामी छु नभनेर अहिले जे गर्नुभएको छ, त्यही गर्छु भनेर हिजो हामीसँग भन्नुभएको भए उहाँलाई मधेस भवनमै जनताले घेरेर राख्ने थिए,’ उनले भने ।
उनले प्रश्न गरे, ‘उहाँलाई उपधारा ३ अन्तर्गत नै मुख्यमन्त्री नियुक्ति गर्न मन थियो भने उहाँले हिजो नै हामीलाई हिम्मत जुटाएर भन्न सक्नुपर्दथ्यो । कुनै रेस्टुरेन्ट, होटलमा गएर मुख्यमन्त्रीको शपथ गराउने ?’
पछिल्लो घटनाक्रमबारे आफूहरू छलफलमा रहेको सोनलले बताए । उनले भने, ‘हामी कानुनी उपचारमा जान्छौँ । जनताको बिचमा जान्छौँ । यस्तो प्रदेश प्रमुख राख्ने कि नराख्ने ? गम्भीर प्रश्न उब्जिएको छ । मजस्तो मान्छेसँग झुट बोल्ने ?’
संविधान र प्रदेश संरचनामाथि प्रहार : कांग्रेसका संसदीय दलका नेता यादव
त्यसैंगरी नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेको इशारामा संविधान र प्रदेश संरचनामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
नेता यादवले भने, 'संविधान र प्रदेशमाथि खेलबाड गर्न खोजिएको छ, एमालेकै कारण देश नै सखाप हुने भयो, अहिले पनि मधेस प्रदेशलाई थप सखाप पार्न खेल भइरहेको छ ।’
‘मधेसमा दादागिरी, छापामार शैलीमा प्रदेश प्रमुखले मधेस भवन छाडेर बाहिर कतै होटेलमा पुगेर राति मुख्यमन्त्री नियुक्ति र शपथ गराउनु भयो,’ उनले भने ।
एमालेकै कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भण्डारीले एमालेकै अनुकूल हुने गरी आफ्नो भूमिका केन्द्रित गरेको यादवको आरोप छ ।
होटलमा बनेको सरकार स्वीकार्य छैन : जसपा केन्द्रीय सचिव साह
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाएका छन् ।
साहले भन्नुभयो, “यस घटनाले न केवल संविधान र सङ्घीयताको अपमान गरेको छ, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा गहिरो चोट पुर्याएको छ ।”
जसपाले यस्तो कार्यको घोर निन्दा र भर्त्सना गर्दै उनले भने , ‘होटलमा बनेको सरकार स्वीकार्य छैन ।’
अहिले मधेस भवन वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति तयनाथ गरिएको छ। अहिले मधेस भवन क्षेत्र तनावग्रस्त बनेको छ। सम्भावित भिडन्तको अवस्थालाई मूल्यांकन गर्दै यस क्षेत्रमा सुरक्षा सावधानी अपनाइएको छ। यस क्षेत्रमा सात दलका नेता/कार्यकर्ताको संख्या निरन्तर थपिँदो छ।




