महोत्तरी - भारतको बिहार राज्यमा मंगलबार सम्पन्न दोस्रो चरणको विधानसभा निर्वाचनपछि नेपाल–भारत सीमाना पुनः खुला गरिएको छ । निर्वाचनका क्रममा शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि बन्द गरिएको सीमाना मतदान सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
मधेस प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सीमाना अस्थायी रूपमा बन्द गरिएको थियो । बिहारमा भएको दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि मंगलबार साँझ ६ बजेदेखि सीमाना खुला गरिएको हो ।
यसैबीच, सीमाना बन्दसँगै रोकिएको नेपाली रेलसेवा पनि पुनः सञ्चालनमा आएको छ । महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म चल्ने यात्रुवाहक रेल मंगलबार साँझदेखि नियमित समयमा सञ्चालनमा आएको रेल्वे कार्यालयले जनाएको छ ।




