जनकपुरधाम- धनुषाको हंसपुर नगरपालिका–७, नुवाखोर टोलमा वृद्ध महिलाको हत्या गरी सुन–चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
गत कात्तिक २४ गते राति करिब ९ बजे सोही टोलकी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र इलाका प्रहरी कार्यालय सुगानिकाबाट खटिएको टोलीले घटनाको अनुसन्धान थालेको थियो।



अनुसन्धानका क्रममा सोही टोलकी ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको सुन–चाँदीका गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मण्डललाई नियन्त्रणमा लिइएको छ र उनको साथबाट मृतकका २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ।
त्यसैगरी मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको धनुषा प्रहरीले जनाएको छ। पक्राउ परेकी मण्डलमाथि जिल्ला अदालत धनुषाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




