महोत्तरी - नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय (राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा) बाट प्राप्त निर्देशन तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र प्राप्त गर्नुपर्नेछ ।”

सूचनाअनुसार घाइते व्यक्तिहरूमा अरविन्द साह (३१ वर्ष, गौशाला–९), रञ्जन कुमार यादव (२८ वर्ष, महोत्तरी), सञ्जय श्रेष्ठ (२९ वर्ष, महोत्तरी), रामबाबु सिंह (५८ वर्ष, महोत्तरी), प्रदिप सिंह (२९ वर्ष, बर्दिबास), सर्वेश यादव (२२ वर्ष, बर्दिबास) र अरुण साह (३१ वर्ष, महोत्तरी) रहेका छन् ।
यी व्यक्तिहरू आन्दोलनका क्रममा घाइते भएपछि नेशनल ट्रमा सेन्टर, सिभिल सर्विस अस्पताल, कीर्तिपुर अस्पताल, रामेछाप अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार गरिएको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले घाइतेहरूलाई तोकिएको समयभित्र सम्पर्क गर्न आग्रह गर्दै भनिएको छ, “परिचयपत्र वितरण कार्य सरकारको राहत कार्यक्रमसँग सम्बन्धित भएकाले समयमा सम्पर्क नगरेमा प्रक्रिया ढिलो हुन सक्छ ।”
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएको भिडन्तमा धेरै जना घाइते भएका थिए । सरकारले ती व्यक्तिहरूको पहिचान, उपचार खर्च र राहत व्यवस्थापनका लागि परिचयपत्र वितरणको प्रक्रिया अघि बढाएको हो ।




