बर्दिबास ।विश्व महिनावारी स्वच्छता दिवस २०२६ को अवसरमा रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२५–२६ को डिस्ट्रिक्ट ग्रान्ट मार्फत रोट्र्याक्ट क्लब अफ बर्दिबासद्वारा आयोजित “महिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापन एवं पुनः प्रयोगयोग्य सेनेटरी प्याड निर्माण सम्बन्धी तीनदिने तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख श्री प्रहलादकुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा रोट्र्याक्ट क्लब अफ बर्दिबासका अध्यक्ष श्री सरोज गजमेरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बर्दिबास क्षेत्रका विभिन्न ८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २४ जना छात्राहरू सहभागी भएका थिए।




तीन दिनसम्म सञ्चालन गरिएको तालिममा कनेक्सन नेपाल काठमाडौबाट प्रशिक्षक आउनु भएको थियो ।
तालिममा सहभागी छात्राहरूलाई महिनावारी स्वास्थ्य, व्यक्तिगत सरसफाइ, सुरक्षित महिनावारी व्यवस्थापन तथा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले किशोरीहरूमा महिनावारी सम्बन्धी विद्यमान भ्रम तथा सामाजिक संकोच न्यूनीकरण गर्दै स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले किशोरीहरूको स्वास्थ्य, शिक्षा र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकार यस्ता सामाजिक अभियानमा सधैं सहकार्य गर्न तत्पर रहेको बताउनुभयो।
अध्यक्ष सरोज गजमेरले महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गर्दै यससँग जोडिएका चुनौतीहरूको समाधानका लागि सचेतना र व्यवहारिक सीप दुवै आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागी छात्राहरूले आफ्ना विद्यालय तथा समुदायमा समेत विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।
महिनावारी स्वास्थ्य तथा वातावरणमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले किशोरीहरूलाई आत्मनिर्भर, सचेत र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।

“हरेक किशोरीको स्वास्थ्य, सम्मान र आत्मविश्वास सुनिश्चित गर्दै स्वस्थ र समुन्नत समाज निर्माणतर्फको एउटा सशक्त कदम।”




