विजयकुमार साह,ढल्केबर – धनुषाको ढल्केबरका युवा खेल मैदान खोज्नका लागि लागि सक्रिय भएका छन् । खेल मैदानको अभावमा लामो समयदेखि खेलकुद गतिविधि शुन्य भएपछि यहाँका युवा उपयुक्त खेल मैदानको व्यवस्थापनमा जुटेका हुन् ।
ढल्केबरस्थित प्रतिभा युवा क्लबका अध्यक्ष रामविरोध महतोले खेलाडीका लागि अभ्यास तथा प्रतियोगिता आयोजना गर्न यहाँ खेलकुद मैदानको अभाव रहेको बताउनुभयो ।



यहाँ मैदान नभएकाले फुटबल, क्रिकेट र भलिबललगायत खेलकुदका प्रतियोगिता आयोजना गर्न सकिएको छैन भने अभ्यासका गतिविधिसमेत ठप्प भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात-आठ वर्षदेखि यस क्षेत्रमा खेलकुद गतिविधि पूर्णरूपमा ठप्प छ । अध्यक्ष महतोले भन्नुभयो “केही वर्ष अघिसम्म ढल्केबरको प्रतिभा युवा क्लब फुटबलका लागि निकै प्रसिद्ध थियो ।
हाम्रो टोली पूर्वमा इटहरीदेखि पश्चिममा हेटौँडासम्म पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउने गर्थ्याे । जसले गर्दा यहाँका थुप्रै खेलाडीले जिल्ला, क्षेत्र र राष्ट्रिय टोलीमा समेत आफ्नो स्थान बनाउन सफल भएका थिए ।” तर, अहिले मैदानकै अभावले सबै प्रतिभा ओझेलमा परेको उहाँको भनाइ छ ।
विगतमा बसही खोलाको नदी उकास जमिनलाई मैदानको रूपमा प्रयोग गर्दै आएको बताउँदै उहाँले बाढीले पुन: कटान गरेपछि उक्त स्थान अहिले साँघुरो र अनुपयुक्त बनेको जानकारी दिनुभयो हाल सोही खोलाको एक किलोमिटर दक्षिणमा करिब दुई बिघा क्षेत्रफलमा ग्राभेल निकालेर छाडिएको एउटा ठुलो खाडललाई खेलकुद मैदानका लागि प्रयोगमा ल्याउन तयारी गरिएको अध्यक्ष महतोले बताउनुभयो
अध्यक्ष महतोले भन्नुभयो, “सो स्थानमा करिब दुई बिघा क्षेत्रफलमा फैलिएकोे खाडललाई पुरेर सम्याउन सकियो भने एउटा स्तरीय खेल मैदान तयार हुने छ । यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन हामीले सम्बन्धित वडा कार्यालयमा निवेदन समेत दिइसकेका छौँ ।” उहाँका अनुसार यो मैदान बनेमा खेलकुद मात्र नभई ठुला सभा, सम्मेलन र सार्वजनिक भेलाका लागि समेत उपयुक्त स्थल उपलब्ध हुने छ ।
मिथिला नगरपालिका–६, का वडाध्यक्ष नन्दकिशोर यादवले युवाको यो प्रयासलाई पूर्णरूपमा सहयोग गर्ने बताउनुभयो । खेल मैदान व्यवस्थापनका लागि युवाले दिएको निवेदनका आधारमा जग्गा उपयोगका लागि आवश्यक सिफारिस र प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय खेल मैदानको अभावमा युवा कुलततर्फ लाग्न सक्ने जोखिम बढेको स्थानीय युवा युवराज पोखरेलको भनाइ छ । मैदान निर्माण कार्यलाई छिटो अघि बढाउन सकियो भने पुनः ढल्केबरको खेलकुद शाख फर्कने युवा कुलततर्फ जानबाट रोकिने बताउनुभयो । -गोरखापत्र अनलाइन




