महोत्तरी – औरही नगरपालिका-१ स्थित औरही बजारको सरसफाई र फोहोर व्यवस्थापनको अभावले बजार र वरपरका क्षेत्रहरू दुर्गन्धित बन्दै गएको छ। हप्तामा मंगलबार र शुक्रबार लाग्ने बजारले पहिले जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा ख्याति पाएको भए पनि अहिले यसको अवस्था दिनप्रतिदिन खस्किँदै छ।
स्थानीय बासिन्दाहरूले बताएअनुसार, बजारबाट निस्कने फोहोर प्रायः नजिकैको जङ्गहा खोलामा फालिन्छ। पहिले किसानहरूले सिचाइका लागि प्रयोग गर्ने खोला अहिले सुकेको अवस्थामा रहेको छ,तर बजार र वरपरका बासिन्दाले फोहोर फालेको कारण खोलाको वरपरको वातावरण दुर्गन्धित भएको छ। रामब्राण मण्डलका अनुसार, बजारबाट करिब ५०० मिटर टाढा रहेको जङ्गहा खोलामा फोहोर फालिँदा स्थानीय जीवन प्रभावित भएको छ।



विशेष गरी माछा बजारमा सरसफाई पर्याप्त नभएको देखिन्छ। बजार खुल्ने सँगै उठ्ने फोहोर र त्यसबाट निस्किएको पानीले दुर्गन्ध फैलाउँछ। बिन्देश्वर साह र सन्तोष साहका अनुसार, बजारमै दुर्गन्धले व्यापारिक गतिविधि र ग्राहक दुवै प्रभावित भएको छ।
स्थानीय विद्यालयले बजार ठेक्का लगाउँदा उठेको रकमबाट खानेपानी, सरसफाई र डस्टबिन व्यवस्थापन गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम प्रयोग भएको छैन। घनश्याम यादवका अनुसार, विद्यालयले ठेक्का रकमको १० प्रतिशत खर्च गरेको भए बजारमा सरसफाई,डस्टबिन र खानेपानीको पर्याप्त व्यवस्था हुन सक्थ्यो।
स्थानीय बासिन्दा र व्यापारीहरूले पटक–पटक फोहोर व्यवस्थापनको माग उठाए पनि अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन। राजनीतिकर्मी, समाजसेवी र व्यवसायीहरू प्रायः समस्या केवल चिया पसलमा छलफल गर्ने मात्रै देखिन्छन्।
मानव बस्तीबाट निस्कने फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ। फोहोर व्यवस्थापन ऐन २०६८ भए पनि यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र स्थानीय तह, जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी तथा बासिन्दाहरूको सक्रियता आवश्यक छ।
औरही बजारको उचित सरसफाई र व्यवस्थापनको अभावले ग्राहक, व्यापारी र स्थानीय बासिन्दा सबैलाई असहज बनाइरहेको छ।




