जनकपुरधाम - मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन माग गर्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताले आज जनकपुरको जनकचोकमा धर्ना दिएका छन् । संविधानको रक्षा तथा निर्वाचित नेतृत्वलाई काम गर्ने वातावरण बनाउनुपर्ने मागसहित उनीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारासहित धर्ना सुरु गरेका हुन्।
गत कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शपथ लिएका मुख्यमन्त्री यादव सात दलीय गठबन्धनको विरोधका कारण काम गर्न नसकेको एमालेले आरोप लगाएको छ।

यता सात दलीय गठबन्धनले भने सरकार गठन प्रक्रिया अवैधानिक भएको दाबी गर्दै मधेश भवन अगाडि निरन्तर धर्ना दिँदै आएको छ। आज पनि गठबन्धनका प्रदेश सांसदहरू मधेश भवन अगाडि नै धर्नामा बसेका छन्।




