जनकपुरमा प्रत्येक वर्ष भव्य रूपमा मनाइने श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवका तयारीहरू अन्तिम चरणमा पुगेका छन्। भोलिदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ।
जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापनले जनाएको छ। मन्दिर वरपरका गल्ली–मठ–मन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेको छ।
विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्। तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो। विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गरेको स्मरण उहाँले गराउनुभयो।
अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ। जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको मङ्सिर ४ (बिहीबार) – नगरदर्शन, मङ्सिर ५ (शुक्रबार) – फूलबारी लिला, मङ्सिर ६ (शनिबार) – धनुषयज्ञ, मङ्सिर ७ (आइतबार) – तीलकोत्सव, मङ्सिर ८ (सोमबार) – मटकोर, मङ्सिर ९ (मंगलबार) – स्वयंवर तथा शुभ विवाह र मङ्सिर १० (बुधबार) – रामकलेवा विधि सहित समापन हुनेछ।
प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउँछन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ। ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त संख्यामा परिचालन गरिनेछ।
यस्तै, पञ्चकोशी जीर्ण अन्तरगृह परिक्रमाको मर्मतसम्भार जनकपुरधाम उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारीको पहलमा गरिरहेको छ, जसले भक्तजनको सहज परिक्रमा सुनिश्चित गर्ने जनाइएको छ।




