जनकपुरधाम । विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन शनिबार भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन्।
त्रेतायुगमा मिथिला नरेश राजर्षी जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यस वर्ष पनि धनुष यज्ञ मनाइएको हो।

त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए। सो सभामा सहभागी भएका कुनै राजाले प्रतयन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाउन खोजेपछि धनुष तीन टुक्रा भएको थियो।

त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मिकी रामायणमा उल्लेख रहेको छ। अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ।
तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ तपेश्वर दास वैष्णव सीताका बुवा र राम मन्दिरका महन्थ राम गिरी रामका बुवाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन्।

जनकपुरधाममा आयोजना हुने महोत्सव मध्ये सबै भन्दा ठूलो धार्मिक महोत्सवको रुपमा सीताराम विवाह पञ्चमी महोत्सव रहेकाले जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ । विवाह पञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधु सन्तसहित लाखौ श्रद्धालु जनकपुरधाम आउने गरेको छ ।

सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिवार मङ्सिर ६ गते धनुष यज्ञ, मङ्सिर ७ गते आइतबार तिलकोत्सव, मङ्सिर ८ गते सोमवार मटकोर, मङ्सिर ९ गते मङ्गलवार स्वयंम्बर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते अन्तिम दिन बुधवार रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।
धार्मिक आस्थासँगै पर्यटकको भीड बढ्दै गएपछि स्थानीय प्रशासनले सुरक्षादेखि यातायात व्यवस्थासम्मका सबै तयारी पूरा गरेको जनाएको छ ।
श्रीसीताराम विवाह पञ्चमी महोत्सवले मिथिला सभ्यताको निरन्तरतालाई बलियो बनाउनुका साथै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा थप स्थापित गरिरहेको देखिन्छ ।




