महोत्तरी- महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।
कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए ।
यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनमार्फत नामावली दर्ता गराएका छन्, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् ।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो ।




