सुजाता राई
काठमाडौँ। लिपि तथा इतिहासविद् डा. श्यामसुन्दर राजवंशीद्वारा रचित ऐतिहासिक–सांस्कृतिक कृति ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ चिवहाल, ठमेलमा आयोजित विशेष समारोहमार्फत लोकार्पण गरिएको छ।
इखबरनेट मिडियाको आयोजनामा सम्पन्न कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’, दिलबहादुर महर्जन तथा इखबर नेटका प्रधानसम्पादक प्रदीप सापकोटा लगायतका व्यक्तित्वको उपस्थितिमा कृतिको लोकार्पण सम्पन्न भयो।

प्रमुख अतिथि जोशीले इतिहास निरन्तर खोज र अन्वेषणको विषय भएको उल्लेख गर्दै डा. राजवंशीले परम्परागत तथ्यलाई नयाँ दृष्टिकोणसहित प्रस्तुत गर्न सफल रहेको बताए।
कृतिमाथि प्रकाश पार्दै महानिर्देशक प्रधानाङ्गले पुस्तक तथ्य, प्रमाण र अभिलेखीय सामग्रीले समृद्ध रहेको तथा इतिहासका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि उपयोगी कृति बन्न गएको टिप्पणी गरिन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष रोदनले इतिहास सधैँ प्रश्न र खोजको माध्यम भएकाले कृतिले त्यस यात्रालाई अझ प्रष्ट र दिगो बनाउने विश्वास व्यक्त गरे।
कृतिकार डा. राजवंशीले पाठकको मूल्यवान् प्रतिक्रिया प्राप्त गर्नु आफ्नो ठूलो अपेक्षा भएको बताए।
कार्यक्रमको सञ्चालन प्रधानसम्पादक सापकोटाले तथा सभापतित्व दिलबहादुर महर्जनले गरेका थिए। प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा मंचासीन अतिथिहरूलाई राष्ट्रमान तुलाधरले खादा अर्पण गरेका थिए। चिवहाल परिवार, ठमेल तथा अशोक चैत्य जिर्णोद्धार एवं संरक्षण समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।




