जनकपुरधाम — सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परामादेश जारी गरेको समय घर्किन लाग्दा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिले अपराह्न साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा अझै पत्र नपठाएपछि विपक्षी सात दलको आग्रहमा उपसभामुख बबिता राउत ईसरले कार्यपरामर्श समितिको बैठक बोलाएकी छन् । कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने चलन छ ।
मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमार्फत नै राजीनामा गर्ने अड्कल गरिएको छ । तर, मंगलबार बिहान एमालेको प्रदेश कमिटी र दलका नेता, उपनेता र सचेतकसहितको बैठकमा विश्वासको मत फेस गर्न मुख्यमन्त्री यादवलाई भनिएको थियो ।




