जनकपुरधाम । नेपाली कम्यूनिस्ट पार्टीले जनकपुरधाममा मधेशस्तरीय एकता सन्देशसभा आयोजना गर्ने भएको छ ।
नेपाली कम्यूनिस्ट पाटीको निर्धारित कार्यक्रम अनुसार यही मंसिर २० गते जनकपुरधामको तिरहुतिया गाछीमा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्न लागेको छ ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीका नेता महेन्द्र राय यादवले औपचारिक रुपमा जानकारी दिएका छन् । शनिबार हुन लागेको प्रदेशस्तरीय सन्देशसभामा प्रत्येक जिल्लाबाट पाँच हजार गरी आठ वटै जिल्लाबाट ४० हजारभन्दा बढी नेता, कार्यकर्ता तथा आमजनताको सहभागी हुने पूर्वमन्त्रीसमेत रहेका नेता यादवले बताए । उनले यस सन्देशसभामा सीमित शीर्षनेतृत्वहरुले मात्रै सम्बोधन गर्ने कार्यतालिका तय भएको समेत बताए ।
त्यस्तै नेता मातृकाप्रसाद यादवले विगतको माओवादी र अहिलेको १६ दल मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको अवस्था निकै फरक र उत्साहजनक रहेकाले आफूहरु हौसिएको बताए । पूर्वमन्त्रीसमेत रहेका नेता मातृकाप्रसाद यादवले विभिन्न पार्टी र समूहहरु नेपाली कम्यूनिष्ट पार्टीमा मिल्ने क्रम जारी नै रहेकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक परिणाम आफूहरुको पक्षमा आउने दाबीसमेत गरे ।
उक्त सन्देशसभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता डा. भीम रावल, नारायणकाजी श्रेष्ठ, मातृकाप्रसाद यादवलगायत अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




