महोत्तरी – महोत्तरीको भंगाहा नगरपालिका–९ हरिनमरीमा दाइँ गर्न तयार अवस्थामा राखिएको धानमा अज्ञात समूहले आगजनी गरेको छ। किशोरी यादवको १२ कठ्ठा खेतमा उत्पादन भएको धान दाइँ हाल्ने तयारीका क्रममा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दीर्घ खडेरीपछि मेहनतपूर्वक उपलब्ध भएको धान भित्र्याउने समय आएकै दिन बिहान आगलागी भएको पीडित यादवले बताएका छन्। उनका अनुसार परिवारका सदस्यले काटेर संकलन गरिएको धान आज दिउँसो ट्याक्टरद्वारा दाइँ गरिने निश्चित भएको थियो। तर बिहान खेतमा गएको बेलामा सम्पूर्ण धान खरानी अवस्थामा फेला परेको उनले बताए।
घटना रिसिबीका कारण ঘটाइएकाे हुनसक्ने आशंका यादव परिवारले व्यक्त गरेको छ। घटनाबारे आवश्यक अनुसन्धान गर्न तथा दोषीलाई कडा कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीय प्रहरी कार्यालयले आगलागीको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान थालिएको जनाएको छ।





