जनकपुरधाम । मधेश प्रदेशमा लामो समयदेखि जारी राजनीतिक तनाब अन्ततः शुक्रबार टुंगियो। पटक–पटक चर्चामा आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव प्रदेशका नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन्। एमाले बाहेकका सातदलीय गठबन्धनको समर्थन पाएपछि यादवले यस पटक सत्ता प्राप्त गर्ने मौका सुनिश्चित गरे।
रौतहटको गढीमाई नगरपालिका–८, बरियारपुरमा ९ भदौ २०२४ मा जन्मिएका यादव कृषि विषयमा स्नातक हुन्। रौतहट–१ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनले १२ हजार ४८९ मत ल्याउँदै प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई एक हजार ८९ मतले पराजित गरेका थिए। कांग्रेस मधेश प्रदेशका सभापति तथा पूर्वमा रौतहट कांग्रेसका दुई कार्यकाल अध्यक्ष रहेका उनले यसअघि जसपा नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। २०४६ सालदेखि सक्रिय राजनीति सुरु गरेका यादव २०६४ को संविधानसभा चुनावमा पनि रौतहट–४ बाट विजयी भएका थिए। उनको राजनीतिक प्रतिबद्धतामा पिता तथा पूर्व बरियारपुर गाविस अध्यक्ष रामचन्द्र यादवको भूमिकाले ठूलो प्रेरणा दिएको मानिन्छ।
यसअघि २९ असोजमा प्रदेश प्रमुख कार्यालयमा तनाव सिर्जना भएको थियो। कांग्रेस र एमाले दुवैका कार्यकर्ताले यादवलाई मुख्यमन्त्री बनाउन माग गरिरहेका थिए। त्यही दिन लोसपाका नेता जितेन्द्र सोनल र यादव दुवैले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए। यादवले ५७ सांसदको समर्थन दाबी गरेका थिए भने सोनलले ५६ सांसदको पत्र पेस गरेका थिए। तर प्रदेश प्रमुखले सोनललाई मुख्यमन्त्री नियुक्त गरिन्, जसले यादवको तत्कालीन प्रयास विफल पार्यो।
अहिले झन्डै दुई महिनापछि भने परिस्थिती पूर्ण रूपमा उल्टियो। कांग्रेस संसदीय दलका नेता यादवलाई सातदलीय गठबन्धनले एकताबद्ध रूपमा समर्थन जनाएपछि उनी मुख्यमन्त्रीका रूपमा चयन भए। शुक्रबार बेलुकी उनी नियुक्त भएपछि मन्त्रालय परिसर नै उत्साहपूर्ण माहोलमा परिणत भयो। ‘कृष्ण यादव जिन्दाबाद’ र ‘सातदलीय गठबन्धन जिन्दाबाद’ का नाराले वातावरण गुन्जिएको थियो।
साढे दुई महिना अघि सोनललाई मुख्यमन्त्री बनाउन सघाएका ६ दल आज कृष्णप्रसाद यादवलाई पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न ४ बजेतिर मुख्यमन्त्री कार्यालय नै पुगेका थिए ।
कांग्रेसका अलावा जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । एक सिटे नागरिक उन्मुक्तिको समर्थन भए पनि सांसद अनुपस्थित थिए ।
यादवको मुख्यमन्त्री बन्ने यो अवसर एमालेले ठूलो दलका आडमा गरेको चलखेल र कांग्रेसले गठबन्धन फेर्दा जुटेको छ ।
२२ कात्तिकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने/दिनसम्म कांग्रेस एमाले सँगसँगै थिए । सत्ता गठबन्धनका ६ दल मध्ये जनमतका पूर्वमुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह अनुपस्थित र माओवादीका सांसदद्वय रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने अडान लिए पछि विश्वासको मत आपूm पक्षमा नजाने संकेत बुझेर सोनलले राजीनामा दिए, र त्यही निर्णयले नयाँ सत्ता समीकरणको ढोका खोल्यो। ठूलो दल भएको आधारमा एमालेले सत्तामा खेल्न खोजेको रणनीति उल्टो पार्दै कांग्रेसलाई फाइदा पुगेको विश्लेषण गरिन्छ। संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्नुपर्ने कांग्रेसको निरन्तर आवाज अन्ततः सफल भयो।
यादवको लामो समयदेखि रहेको मुख्यमन्त्री बन्ने चाहना यस पटक पूरा भएको छ। पार्टी नेतृत्वबाट पहिल्यै संकेत नपाएकाले उनी विगतका प्रयासमा अघि बढ्न सकेका थिएनन्। तर सातदलीय गठबन्धन नफुटोस् भन्ने चिन्ताले सबै दल अन्ततः कांग्रेसकै उमेदवारमा सहमत भए।
अहिले मन्त्रालयको भागबण्डा खुल्न बाँकी छ। आइतबार शपथ लिने तयारीमा रहेका मुख्यमन्त्री यादवले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि विस्तार तथा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधार आफ्नो प्राथमिकता हुने बताए।
मधेश प्रदेशको यो सत्ता परिवर्तन आकस्मिक भन्दा बढी राजनीतिक रणनीति, गठबन्धनको जटिलता र कांग्रेसको समयअनुकूल चालको परिणाम हो। अब चुनौती भनेको राजनीतिक स्थिरता कायम गर्दै विकास र सुशासनमा वास्तविक प्रगति देखाउनु हो। आगामी दिनमा नयाँ सरकार कत्तिको प्रभावकारी हुन्छ, त्यो मधेश प्रदेशका नागरिकका लागि प्रतीक्षा र मूल्यांकनको विषय बन्छ।




