जनकपुरधाम । नाबालिग बलात्कार अभियोगमा प्रहरीले शिवशंकर साह(हिरा)लाई मंगलबार पक्राउ गरेको छ ।
नाबालिगका मामा सञ्जय महासेठ पनि पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले हिरालाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरी अबेर राति धनुषा ल्याइएको छ । उनको नाम पीडित पक्षले पोलेसंगै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।
प्रहरीले पक्राउ पूर्जी लिएको जानकारी पाउना साथ उनी बिहारतर्फ भागेका थिए । प्रहरी सम्वद्ध स्रोतका अनुसार साहलाई सीतामढी जिल्लाबाट पक्राउ गरिएको हो । उनी फरार भएदेखि नै प्रहरीले निगरानी बढाएको थियो । हिरा सीतामढीमा लुकेको सुराग पाउना साथ प्रहरीले भारतीय काउण्टर पार्टसित समन्वय गरी पक्राउ गरेको बताइएको छ । हिरा पक्राउ परेको प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । तर स्रोतले उनलाई अबेर राति धनुषा ल्याइसकेको जनाएको छ ।
स्रोतका अनुसार भारतीय प्रहरीले साहलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको बताइएको छ । धनुषाका प्रहरी प्रमुख एसपी रुगम बहादुर कुँवरले विशेष चासो लिएर अनुसन्धानलाई अगाडि बढाएका छन् । उनले काउण्टर पार्टीसित समन्वयगरि केही दिन भित्रै हिरा साहलाई पक्राउ गर्न सफल भएको बताइन्छ ।
हिरा साह गत स्थानीय निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरमा उम्मेदवार रहेका थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष र मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भएका छन् । एमालेका नेताहरुका अनुसार उनी फरार रहेकै बेला उनको नाम प्रतिनिधिमा छनोट गरिएको थियो ।
नाबालिगका मामा महासेठलाई प्रहरीले जनकपुरधामबाट नै पक्राउ गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जनाएका छन् । महासेठले बलात्कारलाई कानुनी दायरामा नलगी अलग्गैबाट मिलाउने प्रयास गरेको आरोप छ । उनले पीडकहरुबाट रकम समेत बुझिसकेको पीडिताले खुलाएकी छन् ।
गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा दुई राति बन्धक बनाएर बलात्कार गरेको थियो । प्रहरीले बलात्कार गरेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का स्वर्गीय किशोरी लाल साहका छोरा मनोज कुमार साहलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । हिरा साह मनोज साहका साख्यै काञ्छो भाई हुन् ।
मनोज साहलाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरी ल्याएको थियो । मनोजको बयानको आधारमा प्रहरीले हिरासमेत तीन जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । दुई जना अझै प्रहरीको पहुँचभन्दा बाहिर रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १३ का नाबालिगलाई होटेलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको थाहा पाएपछि पीडित हजुरबुवा र आमाले कार्तिक २३ गते बिहान ५ बजे उद्धार गरी घर लगेका थिए ।
१३ वर्ष ४ महिनाकी नाबालिगलाई बन्धक बनाएर बलात्कार गरेको घटनालाई गुपचुप मिलाउन मनोज साहका भाई हिरा साह लगायत तीनजना सक्रिय रुपमा लागेका थिए । पीडितलाई करिब ३० लाख रुपैयाँसम्म दिने सहमति समेत गरिसकेपछि घटना २२ दिन सम्म भित्र भित्रै भुसको आगो जस्तो सल्किएको थियो । जनकपुरधाम उपमहानगरपालिका भरी बलात्कार गरी घटनालाई गुपचुप मिलाएको खबर भित्र भित्रै फैलिए पनि प्रहरीमा उजुरी परेको थिएन ।
प्रहरीले घटनाको संज्ञान लिएर सूक्ष्म अनुसन्धान गरेर तहसम्म पुगेर दोषीहरुलाई कानुनको दायरामा ल्याएको छ । प्रहरीका अनुसार पक्राउ परेका मनोज साहले अपराध स्वीकार गरिसकेका छन् । उनले दिएको बयान अनुसार हिरा साह लगायतका व्यक्तिहरुको संलग्नता पुष्टि भएको बताइएको छ । नेकपा एमालेका केही नेताहरुले हिरालाई जोगाउन प्रहरीमाथि दबाब बनाएको थियो । हिरा साहलाई जोगाउन नेताहरुले विशेष दबाब दिए पनि प्रहरीले घटनाको तहसम्म पुगेर दोषीसम्म पुगेको बताइएको छ ।
स्रोतका अनुसार पीडित बालिकाका मामाले दोषीसित मिलेमतो गरी केही लाख रुपैयाँ समेत लिएका थिए । मामाले मिलेमतो गरी प्रहरीको पहुँचभन्दा बाहिर नै घटनालाई लुकाएका थिए । प्रहरीले पीडितलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउँदा दोषीहरु पक्राउ परेको बताइएको छ ।
पीडितलाई नै नियन्त्रणमा लिएर बहुत कम अपराधमा अनुसन्धान गरिन्छ । धनुषा प्रहरीले पीडितलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा जघन्य अपराधमाथिको पर्दा उघ्रेको छ । पीडितले जाहेरी समेत दर्ता गराइसकेको छ । पहिले नै पक्राउ गरेका मनोज साह अविवाहित रहेका छन् ।




