ढल्केबर,धनुषा - धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरस्थित मिथिला सागर ‘पोखरिया’ क्षेत्रमा बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
मिथिला जलवायु परिवर्तन पैरवी समूहको आयोजनामा तथा मिथिला नगरपालिका ढल्केवर र लियो क्लब अफ मिथिला आदर्शको संयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा लियो क्लब अध्यक्ष दिपेश कुमार सिंहले जानकारी दिनुभयो ।
पर्यटकीय सम्भावना बोकेको हराभरा ‘मिथिला सागर पोखरिया’ विगत केही वर्षयता क्रमशः कुरूप हुँदै गएपछि स्थानीय संघ–संस्थाले समय–समयमा सरसफाइ अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन् । पोखरी क्षेत्रलाई संरक्षण तथा स्वच्छ राख्ने उद्देश्यले यस पटकको अभियान सञ्चालन गरिएको सिंहले बताउनुभयो ।
उहाँका अनुसार पोखरीको चारैतिर व्यापक सरसफाइ गरी डस्टबिनसमेत स्थापना गरिएको छ । सरसफाइ अभियानलाई नियमितरूपमा निरन्तरता दिने तयारीसमेत भइरहेको जानकारी उहाँले दिनुभयो ।
यस बृहत् सरसफाइ कार्यक्रममा मिथिला नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर स्याङदन, इलाका प्रहरी कार्यालय ढल्केवर, हाम्रो युवा क्लब ढल्केवर, मिथिला नगर बालसञ्जाल ढल्केवर, न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका प्रतिनिधि तथा स्थानीय वातावरण अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।




