जनकपुरधाम । धनुषा जिल्लामा रहेको गाउँपालिका हो, मुखियापट्टी मुसहरनिया । यो आर्र्थिक, सामाजिक र विकास निर्माणका हिसाबले पछाडि परेको छ । गाउँपालिकाको नामले समेत यसको हेपाइको अवस्थालाई पुष्टि गर्छ ।
मुसहरनिया भन्नेबित्तिकै मुसहर समुदायमा महिलालाई हेपेर प्रयोग गरिने शब्दको रूपमा लिइन्छ । त्यसैले पनि यस गाउँपालिकाको नाम देशैभरि पिछडिएको र सुगम क्षेत्रको दुर्गम गाउँपालिकाको रूपमा प्रचलित छ । तस्करी, आपराधिक गतिविधि, अशिक्षा, बाढीग्रस्त क्षेत्रलगायत विभिन्न उपनामले पहिचान बनाएको छ । यसरी चिनिने यो गाउँपालिका पछिल्लो समय आफ्नो हेपिएको पहिचानलाई परिवर्तन गर्न प्रत्यनशील छ । स्थानीय तहको उत्कृष्ट कार्य योजनाहरू र त्यसको प्रभावकारी कार्यान्वयनले गर्दा यस गाउँपालिकामा साँच्चिकै सिंहदरबार भित्रिएको अनुभूति सर्वसाधारणले गर्न थालेका छन् ।
गाउँपालिकाको सीमित बजेटलाई सक्दो उपयोग गरेर जनतामुखी कार्यहरू गरिरहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका मधेसकै ‘नमुना गाउँपालिका’ बन्ने दाबी स्थानीयको छ ।
सडक सञ्जालले जोडिएको पालिका मधेस प्रदेशको राजधानी जनकपुरधामबाट १८ किलोमिटरको दूरीमा रहेको यस पालिकासम्म पुग्न आजभन्दा पाँच वर्ष पहिलेसम्म सहज थिएन । कच्ची र जीर्ण सडकहरूले गर्दा २० मिनेटको मोटरबाटोको दूरी एक घण्टासम्म लम्बिन जान्थ्यो । त्यसमा पनि पालिकाभित्र एक वडादेखि अर्को वडासम्म पुग्न त झनै असहज थियो ।
वर्षायाममा हिलाम्य कच्ची बाटोका कारण गाउँपालिकावासीकै दैनिकी अस्तव्यस्त हुने गर्थो तर, हाल सडक सञ्जालको विस्तार र चौतर्फी पक्की सडक निर्माणले गर्दा पालिकाभरि नै आवतजावत गर्न सहज भएको छ । ‘दुई वर्षअघिसम्म हामी हिलोमा हिँड्न बाध्य थियौं । पानी पर्यो कि गाउँमा आउजाउ गर्नसमेत दुर्दशा हुन्थ्यो,’ लवटोली गाउँका विनोद यादवले भने, ‘अहिले हाम्रो गाउँमा पनि पक्की सडक छ । बाटो ढलान भएको छ । सवारी लिएर हिँड्न पनि निकै सहज भएको छ । अहिले त हामी गाउँमै टेम्पुहरू पनि चलाउन थालेका छौं पहिलाभन्दा अब निकै सजिलो भएको छ ।’
विनोदको गाउँ लवटोलीदेखि बहेरासम्म जोड्ने सडक गाउँपालिकाद्वारा गत आर्थिक वर्षमा ढलान गरिएको हो । त्यसैगरी पालिकाअन्तर्गत रहेका ६ वटा वडाहरूमा एक वडाबाट अर्कोसम्म पुग्ने सबै सहायक सडकहरूसमेत निर्माण गरिएका छन् । किसानको सहजीकरण र व्यापारमा बढोत्तरीका लागि पालिकाले २५ किलोमिटर कृषि सडक निर्माण गरेको छ ।
मुखियापट्टीका विद्यालयमा पठनपाठन नियमित देशभरकै शिक्षकहरू अहिले काठमाडौंमा आन्दोलनरत छन् । यसले अधिकांश पालिकाहरूमा शैक्षिक सत्र ठप्पै भएको छ । तर, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा रहेका १३ वटा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिमा काठमाडौंको शिक्षक आन्दोलनले खासै प्रभाव पार्न सकेको छैन । विद्यालयको पठनपाठन नियमित सञ्चालनमा रहेको छ । विद्यार्थी भर्ना अभियान र नयाँ शैक्षिक सत्रका कार्यक्रमहरू पनि निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
पालिकाले विद्यालयहरूमा शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउन गाउँसभाबाट कार्यविधि नै पास गराएर सय जना नगर शिक्षक नियुक्त गरेको छ । तिनै शिक्षकहरूबाट अहिले गाउँपालिकाको विद्यालयहरूमा अध्यापन भइराखेको गाउँपालिका अध्यक्ष जयकुमार यादव बताउँछन् । ‘हामीले शिक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखेका छौं । त्यसैले पनि होला शिक्षकको आन्दोलनका विषयमा थाहा नहुँदै यस पालिकामा करारमा शिक्षक भर्ना गरेका थियौं । तिनै शिक्षकहरूमार्फत अहिले सबै विद्यालयमा कक्षा नियमित सञ्चालन भइरहेका छन्,’ अध्यक्ष यादव भन्छन्, ‘हामीले गाउँपालिकाबाटै भर्ना गरिएका शिक्षकहरूमार्फत विद्यार्थी भर्ना अभियान पनि सञ्चालन गररहेका छौं ।’
शिक्षक भर्नाका साथै गाउँपालिकाले नयाँ अभ्यासका रूपमा १३ वटै विद्यालयमा १३ जना शिक्षा परिचालकसमेत भर्ना गरेको छ । यी शिक्षा परिचालकले विद्यालयमा कति विद्यार्थी आए, कति अनुपस्थित भए, शिक्षकहरूको हाजिरीको अवस्था, विद्यालयमा अभिभावकको गुनासो सुन्नेलगायतका अन्य प्राविधिक विषयहरूमा समन्वयकारी भूमिका निर्वाह गर्ने गरेका छन् ।
‘यस पालिकाको सामुदायिक विद्यालयहरूमा निजी विद्यालयमा भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान भइरहेको छ,’ श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालय तुल्सीयाहीकी शिक्षिका अर्चनाकुमारी झाले बताइन्, ‘हामीलाई पालिकाबाट करारमा भर्ना गरिएको छ तर, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निकै नै प्रेरित गरिने गरिन्छ । यहाँका विद्यालयहरूमा पालिकाद्वारा निःशुल्क किताबकापी उपलब्ध गराइएका छन् । शैक्षिक वातावरण राम्रो भएकाले अध्यापनमा निकै सहज भएको छ ।’
पालिकाले शिक्षालाई सर्वाधिक महत्व दिँदै अहिले १३ वटै विद्यालयमा सुविधासम्पन्न भवनहरू निर्माण गरिराखेको छ । कतिपयमा भवन बनेर तयार भइसकेका छन् भने कति निर्माणाधीन अवस्थामै छन् । दुई वर्षअघिसम्म पालिकाभरि एउटामात्रै माध्यमिक विद्यालय सञ्चालन रहेकोमा हाल तीन वटा थप मावि सञ्चालनमा ल्याइएका छन् । जसमा राष्ट्रिय मावि, लक्ष्मीपुर, राष्ट्रिय मावि, मुखियापट्टी र राष्ट्रि«य मावि, मुसहरनिया रहेका छन् ।
‘पहिले त हाम्रो गाउँमा विद्यालय नै थिएन । यहाँका बच्चाहरू पढ्नकै लागि ३, ४ किलोमिटर हिँडेर छिमेकी गाउँ कोल्हुवा, लक्ष्मीपुर जाने गर्थे’, बहेडामा पालिकाबाट १ करोड ४० लाख रुपैयाँमा निर्माणाधीन राष्ट्रिय प्राथमिक विद्यालयको भवन देखेर खुसी हँुदै स्थानीय सोगारथ सहनीले भने, ‘अब त यस गाउँका बालबच्चाहरूले आफ्नै विद्यालयमा पढ्न पाउनेछन् । हामी पालिकाको यस्तो राम्रो कामबाट निकै खुसी छौं ।’
पालिकाले गत आर्थिक वर्षमा विद्यालय निर्माणमा ७ करोड रुपैयाँ खर्चेको थियो भने चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ विनियोजन गरेर विद्यालयका भवनहरूको निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको छ ।
पालिकाले करारमा भर्ना गरेका शिक्षकहरूको तलब र अन्य सुविधामा ४ करोडभन्दा बढी बजेट वार्षिक रूपमा खर्चिंदै आएको छ । पालिकाको तथ्यांकअनुसार यी १३ वटा विद्यालयमा हाल ७ हजार बालबालिका अध्ययनरत छन् । विद्यार्थीको विद्यालयप्रति आकर्षण बढाउन निःशुल्क बस सेवा सञ्चालन, निःशुल्क कापीकिताब र पोसाक तथा गृहकार्य पुस्तिका पालिकाले वितरण गर्दै आएको छ ।
पालिकामै सुविधासम्पन्न अस्पताल स–साना रोग वा बिरामी पर्दा जनकपुर वा छिमेकी भारतको सहरहरूमा महँगो खर्च गरेर उपचार गराउन जानुपर्ने बाध्यता अहिले मुखियापट्टी मुसहरनिया गाउँपालिकाका बासिन्दालाई हटेको छ । पालिकामै सञ्चालित १५ शय्याको व्यवस्थित अस्पताल, चौबिसैघण्टा उपलब्ध स्वास्थ्यकर्मी र चिकित्सक तथा निकै व्यवस्थित प्याथोलोजी ल्याबहरूबाट स्थानीयले स्वास्थ्य सेवा सहजै प्राप्त गर्न पाएका छन् ।
‘दुई दिनदेखि सन्चो थिएन । आफ्नै गाउँमा अस्पताल भएपछि छिमेकीको सहारामा औषधि लिन आइपुगे । डाक्टर साहबले चेकजाँच गरेर औषधि दिनु भएको छ । पैसो त यहाँ तिर्नै पर्दैन,’ मुखियापट्टी मुसहरनिया जनस्वास्थ्य प्रयोगशाला बहेडा बेला स्वास्थ्यचौकीमा औषधि लिइरहेका बहेडा गाउँका ७५ वर्षीय रामस्वार्थ यादवले भने, ‘पहिले पनि यहाँ एउटा स्वास्थ्यचौकी थियो तर, त्यसमा न कहिल्यै डाक्टर बस्थे न त औषधि नै पाइन्थ्यो । हामीलाई त सानो तिनो रोगबिरामी पर्दा पनि औषधि पसलबाट पैसा तिरेरै औषधि किनेर खानु पर्थो तर, अहिले निकै सजिलो भएको छ । गाउँमै सबै जाँच हुन्छ ।’
साबिकमा स्वास्थ्यचौकी रहेकै स्थानमा हाल ६ बिघा जग्गा लिएर पालिकाले ५० शय्याको अस्पताल भवन निर्माणको कार्य अघि बढाएको छ । जसमा बर्थिङ सेन्टर, एनआईसीयू सेवालगायत स्वास्थ्य सेवाहरू प्रदान गरिने लक्ष्य राखिएको छ । ‘पालिकाले आफ्नै बजेटबाट यसरी ५० शैय्याको अस्पताल निर्माण गरेको हामी पहिलो हुन्छौं होला जस्तो मलाई लाग्छ,’ पालिका प्रमुख यादव भन्छन्, ‘यो अस्पताल निर्माण भएपछि यहाँका जनताले स्वास्थ्य सेवा लिन बाहिर धाउनुपर्ने बाध्यता त हट्छ नै । महँगो स्वास्थ्य उपचारको चक्रबाट पनि स्थानीय बच्नेछन् ।’
हाम्रो पालिका राम्रो पालिका । यहीँ नै हो मेरो नारा । म यसलाई यथार्थ बनाएर छाड्छु । पहिले कसले के गर्यो भन्ने थाहा भएन् तर, अबका दिन यस पालिकाका लागि उत्कृष्ट हुनेछन् । जयकुमार यादव, गाउँपालिका प्रमुख, मुखियापट्टी मुसहरनिया
पालिकाको विद्यालयहरूमा निजी विद्यालयभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान भइरहेको छ । हामीलाई पालिकाबाट करारमा भर्ना गरिएको छ तर, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निकै नै प्रेरित गरिने गरिन्छ । अर्चनाकुमारी झा, शिक्षिका
हाम्रो पालिकामा कृषि कर्ममा सबैभन्दा ठूलो समस्याको रूपमा समयमा वर्षा नहुनु र सिँचाइको सुविधा नहुनु नै थियो । तर, पालिका स्तरबाट खेतखेतमा बोरिङ, सानो ट्युबेल र डिप ट्युबेलहरू जडान गराइएपछि अहिले किसानलाई निकै राहत भएको छ । विश्वनाथ यादव, स्थानीय
हाल पालिकाले सुविधा सम्पन्न दुईवटा प्याथोलोजी ल्याब तुल्सीयाही र बहेडाबेलामा सञ्चालनमा ल्याएको छ । त्यसैगरी पालिकाबाटै दुईवटा औषधि पसलसमेत सञ्चालनमा ल्याइएका छन् ।। यी औषधि पसलहरूमा खरिदको १० प्रतिशत मुनाफामात्रै लिएर औषधिहरू सुपथ मूल्यमा उपलब्ध हुने गर्दछ । साथै सरकारले स्वास्थ्यचौकीमार्फत उपलब्ध गराउन भनेको सबै खालका निःशुल्क औषधिहरूसमेत पर्याप्त मात्रामा उपलब्ध छन् ।
पालिकाको अस्पतालमा अहिले प्रतिदिन सय जनाभन्दा बढी बिरामीको ओपीडीमा जाँच हुने गरेको जनाइएको छ । स्वास्थ्यसेवालाई अझ बढी प्रभावकारी बनाउन पालिकाबाट तीन वटा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । यी एम्बुलेन्सहरू चौबिसैघण्टा उपलब्ध हुन्छन् । पालिकाले चलाएको घुम्ती एम्बुलेन्स सेवा पनि निकै प्रभावकारी भएको छ । एउटा एम्बुलेन्समा चौबिसैघण्टा हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, चालक र औषधि पसल राखेर घुमिरहेको हुन्छ । घुम्ती एम्बुलेन्समा बिरामी परेको कोहीले सम्पर्क गर्दा तत्कालै आवश्यक स्थानमा जाने, प्राथमिक उपचार गरेर अवस्था सहज बनाउने र थप उपचारका लागि अस्पतालसम्म पुर्याउने काम गर्दै आएको छ ।
पालिकाभरिमा हाल ६ वटा आधारभूत स्वास्थ्यचौकीहरू सञ्चालनमा छन् । यी हेल्थ पोस्टहरूमा सबै निःशुल्क औषधिहरू पनि उपलब्ध छन् । ‘हामीले शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गर्न पालिकाको विकास बजेट छोएका छैनौं,’ पालिका प्रमुख यादव भन्छन्, ‘यी सबै काम राजस्व बाँडफाँडबाट आउने रकमबाट हुने गरेको छ ।’ पालिकालाई प्रतिवर्ष राजस्व बाँडफाँडबाट करिब ९ करोड रुपैयाँको हाराहारीमा रकम प्राप्त हुँदै आएको छ ।
सांस्कृतिक सम्पदालाई जगेर्ना गरिँदै खाली नकारात्मक कुराहरूबाट गलत प्रचारप्रसार भएको मुखियापट्टी मुसहरनियामा राम्रा र प्राचीन महŒवका सांस्कृतिक स्थलहरू पनि छन् । करिब तीन सय वर्ष पुरानो तुल्सीयाहीमा अवस्थित लक्ष्मीनारायण मठ संरक्षण संवद्र्धनको अभावमा जीर्ण भई लोपोन्मुख अवस्थामै पुगेको बेला पालिकाले यसको सौन्दर्यीकरण सुरु गरेको छ । तत्कालीन राजा गीर्वाणयुद्ध शाहको आदेशमा लक्ष्मीनारायण मठको जीर्णोद्धार गरिएको त्यहाँको शिलालेखमा उल्लेखित छ । भोटे पाण्डेको नेतृत्वमा १८६२ सालमा जीर्णोद्धार गरिएको सो मन्दिर निकै सुन्दर र आकर्षक छ ।
अहिले सो मन्दिरको सौन्दर्यीकरण र जीर्णोद्धारका लागि ४ करोड रुपैयाँको टेन्डर गरिएको पालिका प्रमुख यादवले जनाएका छन् । त्यसैगरी बहेडामा रहेको सयौं वर्ष पुरानो देववृक्ष स्थल डिहवार थानको उत्थान गरी त्यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न पालिकाले काम सुरु गरेको छ । ‘यस स्थानको महत्व निकै पुरानो छ तर, नत यसको उत्थानको लागि हालसम्म कुनै नेताजीहरूले चासो लिनुभयो न त समाजसेवीहरूले नै ।
पछिल्लो समय त यो उजाड र निर्जन बनेको थियो,’ डिहवार थानका वृद्ध पुजारी रामलक्षण यादवले अन्नपूर्णकर्मीसँग भने, ‘यस वर्ष पालिकाबाट बजेट राखेर यहाँ मन्दिर बनाइँदै छ । थानसम्म आउने सडकलाई पनि व्यवस्थित गरिएको छ । घेराबेरा लगाएर यस स्थानलाई सुन्दर बनाउन थालिएको छ । यसको महिमालाई सर्वसाधारण माझ उजागर गरियो भने यहाँ धार्मिक श्रद्धालुहरू आउने क्रम निकै बढ्छ होला ।’
कृषि सडक निर्माण र कृषि विद्युतीकरणमा तीव्रता कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न र किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पालिकाबाट हालसम्म २५ किलोमिटर कृषि सडक निर्माण गरिएको छ । त्यसैगरी कृषि विद्युतीकरणलाई पनि जोडतोडका साथ अघि बढाइएको छ । ‘अहिले कृषि विद्युतीकरणका लागि हामीले ५ करोड रुपैयाँ पालिकाबाट खर्चिरहेका छौं जसमा हरेक टोल हरेक क्षेत्रमा किसानलाई विद्यत्को पैसा नतिरेर सेवा लिन पाउने सुविधा प्रदान हुनेछ ।’
त्यसैगरी गाउँपालिकाको ९० प्रतिशत खेती योग्य जग्गामा सिँचाइको सुविधा प्रदान गर्न बोरिङ जडान गरिएका छन् । ‘यस पालिकामा कृषि कर्ममा सबैभन्दा ठूलो समस्याको रूपमा समयमा वर्षा नहुनु र सिँचाइको सुविधा नहुनु नै थियो तर, पालिका स्तरबाट खेतखेतमा बोरिङ, सानो ट्युबेल र डिप ट्युबेलहरू जडान गराइएपछि अहिले किसानहरूलाई निकै राहत भएको छ,’ स्थानीय विश्वनाथ यादव भन्छन्, ‘यसअघि त पालिकाबाट कुनै कामै भएको थिएन । पहिलेका मेयरले आफ्नो बुवाको नाउँमा यहाँ स्मारक बनाए । हुने कामहरूमा पनि अवरोधमात्रै गरेर रकम फ्रिज गराए तर, अहिले कामहरू निकै राम्रो भएको छ र जनताका लागि सरकार हो भन्ने अनुभूति हामीले यस पालिकामा गरिरहेका छौं ।’
दलित समुदायलाई सशक्त बनाउँदै पालिका अशिक्षा र गरिबीले गर्दा समाजको सबैभन्दा पछाडि रहेको दलित समुदायलाई सशक्त बनाउने उद्देश्यले पालिकाले डोम समुदायका ११ जनालाई सफाइ कर्मचारीको जागिर नै दिएको छ । यी समुदायका व्यक्तिहरू विशेषगरी दैनिक ज्यालादारी गर्ने र पाएको पारिश्रमिक पनि कुलतमा उडाउने हुँदा त्यसबाट जोगाउन पालिकाले ति सबै सफाइ कर्मचारीको बैंक खाता खोलेर तिनको पारिश्रमिक बैंकमै हाल्ने व्यवस्था मिलाएको छ ।
‘हामीलाई त पहिले कुनै कामै थिएन । हामी सुँगुर चराउथ्यौं र गाउँमा जेनतेन गुजारा गथ्र्यौं तर, अहिले हामीले पालिकामै जागिर पाएका छौं । पहिले कहिल्यै बैंक नदेखेका हामी अहिले बैंकबाट पैसा झिकेर इँटाको घर बनाउन थालेका छौं,’ स्थानीय मनोज मल्लिक (डोम) ले खुसी हुँदै भने, ‘हाम्रो समाजको लागि पालिकाले निकै राम्रो सोचिदिएको छ । हामीले अब काम पनि पाएका छौं र दाम पनि ।’
६ महिनासम्म पालिकामा निरन्तर काम गरेका डोम कर्मचारीको एकमुष्ट तलब बैंक खातामार्फत उपलब्ध गराएर उनीहरूको घर निर्माणमा पालिकाले सहयोग गरेको छ । हाल यी सबै डोम परिवारहरू माटोको घर हटाएर पक्की घर निर्माण गर्न थालेका छन् भने तिनका बालबालिका पनि विद्यालयमा गई पढ्न थालेका छन् ।
त्यसैगरी पालिकाले आफ्नै बजेटबाट सय जना मुसहर, चमार र डोम जातिको घर निर्माणको काम पनि अघि बढाएको छ । यी कार्यहरूमा २० प्रतिशत जन श्रमदान गरिने स्थानीय स्तरमा सम्झौता भएको छ ।
शतप्रतिशत बजेट खर्च कर्मचारी अभाव, जनप्रतिनिधिको गैरजिम्मेवार रवैयालगायत विभिन्न बहानामा विनियोजित बजेटसमेत खर्च गर्न नसकेका अधिकांश स्थानीय तहहरूको अगाडि उदाहरणीय बनेको छ मुखियापट्टी मुसहरनिया । गत आर्थिक वर्षमा विनियोजित बजेटको ९० प्रतिशत रकम खर्च गर्न सफल भएको यस पालिकाले चालु आर्थिक वर्षमा हालसम्म ८० प्रतिशत रकम खर्चिसकेको छ । ‘हामीले सबै प्रक्रियाहरू पुर्याएर रीतपूर्वक बजेट खर्चेका छौं र चालु आर्थिक वर्षमा यति धेरै काम भइरहेका छन् कि पालिकाको शतप्रतिशत बजेट खर्च भई थप आर्थिक भार आउन सक्ने सम्भावना पनि म देख्छु,’ प्रमुख यादव बताउँछन् ।
हाम्रो पालिका, राम्रो पालिका हालसम्म नकारात्मक चर्चा पाएको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सकारात्मक छवि निर्माणमा दिनरात खटिएका ३० वर्षीय युवा गाउँपालिका प्रमुख जयनारायण यादवको एउटै नारा छ, ‘हाम्रो पालिका राम्रो पालिका ।’ उनी भन्छन्, ‘यसअघि कसले के गर्यो गरेन भन्ने मलाई थाहा छैन । तर, जनताले एक युवा र किसानको छोरालाई परिवर्तनकै आस बोकेर जनप्रतिनिधि बनाएका होलान् जस्तो मलाई लाग्छ । त्यसैले जनताको विश्वासलाई जोगाउन यस पालिकाले जनमुखी कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाएको छ र हामी नमुना बनेर देखाउने छौं ।’