राजविराज — मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह स्कर्पियो गाडीमा हुइँकिरहेका भेटिन्छन् । मुख्यमन्त्रीको पद खुस्किएको दुई महिना भइसक्यो तर उनले ज १ झ ४७० नम्बरको स्कर्पियो फिर्ता गरेका छैनन् । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिएको ज १ झ ४७० नम्बरको गाडीको सट्टा उस्तै देखिने ज १ च ४७० नम्बरको निजी नम्बर प्लेट भएको स्कर्पियोमा भेटिन्छन् । के उनले सरकारी गाडीमा निजी नम्बर प्लेट हालेका हुन् त ?
हामीले यही प्रश्न उनलाई सोध्यौं । उनले जेन–जी आन्दोलनका बेला सुरक्षा नहुने भएकाले सरकारी नम्बरको गाडीमा निजी नम्बर प्लेट राखेर चलाइरहेको स्वीकारे । भने, ‘रातो प्लेट बनाएको छु तर ज १ झ नै हुनुपर्छ,’ उनले भने, ‘थप म बुझ्दै छु, कुन नम्बर राखेको रै'छ ।’
गत शनिबार सिंह यही ज १ च ४७० नम्बरको स्कर्पियो चढेर राजनीतिक भेटघाटका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ पाठशाला आइपुगेका थिए ।
जनमत पार्टीका सिंह २५ जेठ २०८१ मा मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए । २४ भदौमा उनले जनमतका पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा राजीनामा दिएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायले ज १ झ ४७० नम्बरको गाडी पूर्वमुख्यमन्त्री सिंहको जिम्मामा रहेको बताए । ‘गाडी फिर्ता गर्न उहाँलाई मौखिक रूपमा जानकारी गराइसकेका छौं तर कार्यालयमा अझै गाडी आइसकेको छैन,’ उनले भने, ‘१/२ दिनभित्रै पत्राचार पनि गर्ने कुरा छ ।’
नले चढ्ने निजी नम्बर प्लेट अरू कसैको हो कि ? हामीले ज १ च ४७० नम्बरको गाडी कसको नाममा रहेछ भनेर यातायात व्यवस्था कार्यालय जनकपुरबाट बुझ्यौं । कार्यालयका अनुसार यो नम्बर पिकअप गाडीमा प्रयोग भएको रहेछ । जुन गाडी १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमारको नाममा नामसारी भएको देखियो । यो गाडी २०७१ पछि सवारी नवीकरण नगरिएको देखियो ।
पूर्वमुख्यमन्त्री सिंहका दाजु सुरजकुमारसँग हामीले यो विषयमा बुझ्यौं । उनले ज १ च ४७० नम्बरको पिकअप गाडी आफ्नो रहेको बताए । उनले भने, ‘त्यो नम्बर मेरो पिकअपको हो तर स्कर्पियोमा राखेको मलाई थाहा छैन ।’ उनले यो पिकअप गाडी कहाँ छ भन्नेबारे बताउन चाहेनन् ।
यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्ज सिंहले पिकअपको नम्बर स्कर्पियोमा हाल्न नमिल्ने बताए । ‘त्यसरी कसैले हालेर चलाइरहेका छन् भने त्यसलाई ट्राफिकले कारबाही गरिहाल्छ,’ उनले भने, ‘जानकारी पाएको खण्डमा हामी पनि छड्के गरेर कारबाही गर्छौं ।’




