जनकपुर — धार्मिक पर्यटकीयस्थल जनकपुर र प्राकृतिक सौन्दर्यले भरिएको पोखराबीच पर्यटक साटासाट गर्ने प्रस्तावमा छलफल थालिएको छ। जनकपुर आउने धार्मिक पर्यटकलाई पोखरा हुँदै मुक्तिनाथसम्म पुर्याउने र पोखराका बाह्य पर्यटकलाई जनकपुरसम्म ल्याउने प्रस्ताव दुवै सहरका पर्यटन व्यवसायीले राखेका छन्।
पुस १३ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने सडक महोत्सवको निम्तो दिन जनकपुर आइपुगेका त्यहाँका पर्यटन व्यवसायीहरूले धार्मिक पर्यटकीय नगरी जनकपुरलाई पर्यटनको आकर्षक केन्द्र बनाउनुपर्ने सुझाव दिएका छन्। पर्यटक साटासाटका लागि जनकपुर र पोखराबीच हवाई सेवा फेरि सञ्चालन गर्नुपर्ने, सडक मार्गको निर्माणाधीन काम छिटो सक्नुपर्ने र जनकपुर–पोखराबीच सुविधा सम्पन्न पर्यटकीय सवारीसाधन चलाउनुपर्ने सहभागीहरूले सुझाव दिएका छन्।
जनकपुर आउने धेरैजसो धार्मिक पर्यटक शाकाहारी भएकाले पोखरामा वैष्णवहरूले खान मिल्ने होटलको व्यवस्था मिलाउन सुझाव दिइएको छ। पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले भारतका विभिन्न प्रान्तबाट जनकपुर दर्शन गर्न आउने पर्यटकलाई पोखरा हुँदै मुक्तिनाथसम्म पुर्याउन सके नेपालको पर्यटकीय क्षेत्रले फड्को मार्ने बताए। ‘जनकपुर हुँदै पोखरा पुगेका धेरै पर्यटक हामीसँग ठोकिनुहुन्छ,’ भट्टराईले भने, ‘पोखरा आउने पर्यटकलाई पनि हामी जनकपुरसम्म पठायौँ भने नेपालमा बसाइँ लम्ब्याउन सकिन्छ।’
ट्राभल एन्ड टुरिजम एसोसिएसन मधेश प्रदेशका महासचिव सुदर्शन काफ्लेले जनकपुरको जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकको संख्या बढिरहेकाले त्यसलाई मुलुकका अन्य पर्यटकीय स्थलतर्फ पनि लैजान र पोखरालगायत अन्य पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकलाई जनकपुरसम्म ल्याउन हातेमालो गर्न आवश्यक रहेको बताए। ‘यस वर्ष मात्रै हामीले करिब ७ सय ५० जना भारतीय पर्यटकलाई जनकपुरबाट पोखरा हुँदै मुक्तिनाथसम्म लगेका थियौँ,’ उनले भने, ‘पोखराले पनि त्यहाँ आउने विदेशी पर्यटकलाई जनकपुरसम्म पठाइदिने पहल भयो भने धेरै राम्रो हुनेछ।’
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले केही वर्षअघिसम्म बुद्ध एयरले जनकपुर–पोखरा–जनकपुर हवाई सेवा सञ्चालन गरे पनि अहिले बन्द रहेकाले पर्यटनसँग जोडिएकाहरूले पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने सुझाव दिए। उनले जाडोयाममा तराई–मधेश र भारतको बिहारबाट ठूलो संख्यामा पर्यटक पोखरा पुग्ने गरेको बताउँदै उनीहरूको बसाइँ लम्ब्याउन तराई–मधेशको झल्को दिने सांस्कृतिक नाचलाई सडक महोत्सवमा समेट्नुपर्ने सुझाव दिए।
रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका संयोजक वसन्त गौतमले गत वर्षको पोखरा सडक महोत्सवमा मिथिलाको झिझिया नृत्य समेटिएको बताए। उनले नेपालका सबै रैथाने गीत–संगीत र नृत्यलाई महोत्सवमा क्रमशः समेटिँदै आएको जानकारी दिए।-कान्तिपुर




