सुजाता राई
काठमाडौँ। योगमाया दिवसको अबसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो ।
नेपाल स्रष्टा समाजद्धारा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित भए ।



उक्त सम्मानहरु अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे,श्रीओम श्रेष्ठ ‘रोदन’पवन आलोक,रेखा कँडेल राजेश न्यौपाने लगायतले समर्पण गरे ।यी दुबै सम्मानमा नगदराशी ५० हजार एकसय एक रुपैयाँ सहित सम्मानपत्र रहेको छ ।
प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पण गर्दै भने,’निरंकुशताका विरुद्ध संघर्ष गर्ने योगमाया विलक्षण व्यक्तित्व थिइन। सबला नारीको रुपमा उनले समाजका विकृति विरुद्ध खेलेको भूमिका अतुलनिय छ । आज सम्मान पाउने उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाजले आफैं सम्मानित भएको छ । नेउपाने बन्धु समाज,संस्थापकहरु प्रति धन्यवाद । सम्मानितद्धयलाई बधाई ।’
यसैगरी सोही कार्यक्रममा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको संगालो ‘योगमाया इतिहासदेखि बर्तमानसम्म’ को लोकार्पण गरियो । यो कृतिका सम्पादक प्रदीप सापकोटा हुन् ।
सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताईन् । उनी आफ्नो बाल्यकालतर्फ फर्केर नोष्टाल्जिक पनि भइन् ।
अर्का सम्मानित व्यक्तित्व चापागाईँले दुरीको हिसावले योगमाया र आफु जन्मेको ठाउँ धेरै टाढा नभएपनि धेरै पछि मात्र योगमायाको बारेमा थाहा पाएको भन्दै उनले भने,’ योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुुनुपर्छ । उनी क्रान्तिकारी कवि थिइन त्यसैले उतिबेला नेपालको कानून,राजनीतिको बारेमा प्रश्न उठाउन सकिन् ।’
पुरस्कार संस्थापक पवन आलोकले योगमायाको योगदानको चर्चा गरे ।
अर्का संस्थापक राजेश न्यौपानेले योगमायाको योगदान आजपनि उत्तिक्कै सान्दर्भिक भएको बताए ।
सम्मानित व्यक्तित्वहरुको बारेमा इल्या भट्टराईले चर्चा गरिन् । चर्चाको क्रममा माया ठकुरी हिजो रेडियो खर्साङ र रेडियो नेपालमा गायिका रहेको पनि बताइन । उनका कृतिहरु भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा रहेको पनि उनले जानकारी दिइन ।
यसैगरी चापागाईँ साहित्य र राजनीतिमा संगै हिड्न सक्ने क्षमता भएको व्यक्तित्वको रुपमा उनको चर्चा गर्दै राल्फाली आन्दोलन र समालोचनाको क्षेत्रमा उनको योगदान बारे जानकारी दिइन ।
न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाका योगदानहरुको प्रचार प्रसार गर्न र राष्ट्रिय विभूति घोषणा गर्न आफुहरु लागि परिरहेको जानकारी दिंदै सम्मानित व्यक्तिद्धयलाई बधाई दिए । उनले आज लोकार्पित कृतिले योगमायाको योगदानको चर्चा सबै सामु पुग्ने आशा समेत व्यक्त गरे ।
गायिका भट्टराईले योगमायाका वाणी आजको सन्दर्भमा पनि उत्तिक्कै सान्दर्भिक रहेको विचार व्यक्त गरिन् । कार्यक्रममा योगमाया रचित गीति भिडियो पनि प्रस्तुत गरियो । जसमा संगीत र स्वर गायिका लोचन भट्टराईको रहेको छ ।
अतिथिको रुपमा नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराई,विधान आचार्य,रमा शर्मा,वागमती प्रदेश संयोजक शंकर भारती,कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपाने लगायत रहेका थिए ।
सह -आयोजक न्यौपाने बन्धु समाज नेपाल रहेको कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’ रोदन’को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गरे ।
प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश घायलले स्वागत मन्तव्य राखे ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुन् हालसम्म यो सम्मानबाट विभिन्न १८ जना व्यक्तिहरु सम्मानित भैसकेका छन् । यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट ९ जना सम्मानित भैसकेका छन् भने यसका संस्थापक राजेश न्यौपाने लगायत छन् ।
स्मरणीय छ,नेपाल सष्टा समाजले केही वर्षदेखि न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा योगमाया स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।




