महोत्तरी — बर्दिबास नगरपालिका–०६ किसाननगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जनएकता आधारभूत विद्यालय, किसाननगरमा सोमबार बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरबाट ३०० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्।शिविरमा सामान्य स्वास्थ्य परीक्षण, चिकित्सक परामर्श तथा रक्त समूह परीक्षण सेवा प्रदान गरिएको थियो। समुदायलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले सर्वसाधारणलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रम प्रगतिशील युवा क्लबको आयोजनामा बर्दिबास नगरपालिका–०६ वडा कार्यालय, ब्लड फर नेपाल र लियो क्लब अफ बर्दिबास समाजको सहकार्यमा सम्पन्न भएको हो। शिविर सञ्चालनका लागि जनकपुर न्यूरो अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो।शिविरबाट सेवा लिएका स्थानीय बासिन्दा केशव मगरले गाउँमै निःशुल्क स्वास्थ्य जाँच र रक्त समूह परीक्षण उपलब्ध हुनु ठूलो राहत भएको बताउनुभयो। आर्थिक तथा समय अभाव भएका नागरिकका लागि यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ।

ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतोले सबैले आफ्नो रक्त समूह थाहा पाउनु अधिकारको विषय भएको उल्लेख गर्दै नियमित स्वास्थ्य जाँच गराउन नसक्ने स्थानीयका लागि शिविर उपयोगी भएको बताउनुभयो। उहाँले रक्त समूह परीक्षण सहजिकरणमा सहयोग गर्ने नेरेसो बर्दिबासप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी अर्की सेवाग्राही रेशमा महतोले पहिलो पटक आफ्नो रक्त समूह थाहा पाउन पाएको र चिकित्सकको परामर्शसमेत प्राप्त भएको भन्दै यस्ता स्वास्थ्य शिविर निरन्तर सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो।जनकपुर न्यूरो अस्पतालका चिकित्सकका अनुसार समुदायस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरले रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। समयमै स्वास्थ्य परीक्षण र सचेतनाले दीर्घकालीन स्वास्थ्य जोखिम कम गर्न मद्दत पुग्ने उहाँको भनाइ छ।

आयोजकका तर्फबाट इन्द्रजित महतोले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहकार्य संस्था, स्वास्थ्यकर्मी तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।










